गुल्मी दरवारमा बाग्लुङ्गसम्मका मानिसहरुको जमघट

Posted on: 09 Jul, 2018

खिम अर्जुन | असार २५, गुल्मी । गुल्मीको पुराना युवा क्लवहरु मध्ये एक मानिने  नवजनविकास युवा परिवार गुल्मी दरबार गाउंपालिका – १, बलिथुमले ५ दिन देखि आयोजना गरेको  विविध सांस्कृतिक कार्यक्रम तथा भलिवल प्रतियोगितामा छिमेकी जिल्ला बाग्लुङ्ग सम्मका खेलाडी र दर्शकहरुको जमघटले  दुई जिल्ला विचको  भावनात्मक सम्वन्ध थप  निकट भएको छ   ।

आईतवार सम्पन्न  क्लवको  २१ औं  स्थापना दिवसको अवसरमा  आयोजित  क्लवका पूर्व अध्यक्षद्वय “स्व. गोपालबहादुर फुङजेली मगर र स्वर्गिय जगु खड्का मगर”को सम्मानमा प्रथम स्मृतिकप भलिबल प्रतियोगितामा सो क्लवले दुई जिल्ला विचको भावनात्मक सम्वन्थ  थप नजिक बनाउन बाग्लुङ्गका विभिन्न क्लवहरुलाई सहभागिताका लागि निम्ताएको थियो । 

वैदेशिक रोजगारको शिलशिलामा बिभिन्न देशहरुमा कार्यरत क्लवका युवाहरुको पुरस्कार सौजन्यमा आयोजित प्रतियोगितामा गुल्मी र बाग्लुङ जिल्लाका बिभिन्न स्थानहरुबाट ३२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रथम उपाधि दिपज्योति युवा क्लव दरबार गाउंपालिका राजा गुल्मीले हासिल गरेको छ भने नवकिरण युवा क्लव दरबार गाउंपालिका बलिथुम टापुले द्धितिय र गुल्मी कै अर्को क्लव न्यू स्टार युवा क्लव लिम्घाले तृतिय स्थान हासिल गरेको छ । 


विजेताहरुलाई   क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद राशि, मेडल र प्रमाणपत्र सहित प्रथम, द्धितिय र तृतिय पुरस्कार  प्रदान गरिएको थियो ।  प्रतियोगितामा आफ्ना खेलाडीहरूलाई समेत प्रेरित गर्दै आफ्नो खेल कौशलताद्वारा सबैलाई प्रभावित गर्न सफल न्यू स्टार युवा क्लब, लिम्घाका टीम क्याप्टेन निर्मल शाही उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीमा सत्यवती युवा क्लब, ग्वाघाका टीम क्याप्टेन प्रकाश राना मगर घोषित भएको आयोजकले जनाएको छ ।

शिक्षा, स्वास्थ्य, कला–संस्कृति, सभ्यता र खेलकुदको अस्तित्व जोगाऔं, भन्ने मूल नारा बोकेको यस क्लवले विगतमा पनि भिन्न भिन्न विधाका वृहत् कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । 

बृहत् सांस्कृतिक कार्यक्रम, आगलागी पिडित सहयोगार्थ राहत संकलन अभियान, ऐतिहासिक रेसुङ्गा बलिथुम महोत्सव देखि सामुदायिक भवन निर्माण सम्म यहांका जनसमुदायहरुको सामाजिक क्षेत्र प्रतिको समर्पण  उदाहरणिय रहेको स्थानियको भनाई छ  ।

यी गतिविधिहरुबाट निकट भविष्यमा नमुना समाज निर्माण तर्फ उन्मुख रहेको क्लवले दावी गरेको छ  । जिल्ला युवा परिषदका  अध्यक्ष राजेन्द्र बिक्रम कुंवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा , बलिथुम वडा सदस्य सुर्य कुंवर मगरको विशेष आतिथ्यता  रहेको थियो । क्लवका  अध्यक्ष चेत प्रसाद राकसकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव  दिनेश कुंवरको संचालन रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!