बबई नदी नियन्त्रण गर्ने तटबन्ध निर्माणमा ढिलाइ

Posted on: 11 Jul, 2018

असार २७, बर्दिया | बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् । 

बबई नदी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलयलाई जिम्मा दिएको हो । 

नदीको चार ठाउँमा तटबन्ध निर्माणका लागि रु १३ करोड बजेट विनियोजन गरिएको छ । गत वर्षदेखि नै शुरु गरिएको तटबन्ध निर्माण कार्य समयमा पूरा हुन नसक्दा गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका हुन् । 

बबई नदी नियन्त्रण र व्यवस्थापनको कार्य प्रगतिका वारेमा जानकारी लिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ र प्रतिनिधिसभा सदस्य सञ्जय गौतमसहितको टोलीले गरेको स्थलगत अनुगमनमा तटबन्ध निर्माणमा भइरहेको ढिलाइका कारण गुलरिया नगरपालिका, कृष्णसार संरक्षण क्षेत्र, पदनाहा, बनियाभार र मगरागाडी उच्च जोखिममा परेका छन् । 

पण्डितपुर, घोरपिट्टा र कुसुम्बाघाटमा तटबन्ध निर्माण भइरहेका छन् । 

वातावरण प्रभाव मूल्यांकन नभएकोजस्ता बहानाबाजी गरेर संवेदनशील ठाउँको तटबन्ध निर्माणमा ढिलाइ गरेको प्रजिअ रामबहादुर कुरुङवाङले बताउनुभयो । 

एउटालाई दोष देखाएर आफू पन्छिने प्रवृत्ति हाबी छ, उहाँले भन्नुभयो, “नदी व्यवस्थापन गर्ने काम आफैँमा चुनौतिपूर्ण हो, अन्तिममा आएर यो नभएर निर्माण भएन भन्नु ठीक होइन ।”रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!