सरकारी कार्यलय भित्रै छुवाछुतः दलित स्वास्थ्यकर्मी भन्छिन् 'टिक्नै गाह्रो भयो'

Posted on: 12 Jul, 2018

प्रेम सुनार | असार २८, बुटवल | नेपाल सरकारको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु विच नै छुवाछुत विभेद हुन्छ भने उनिहरुबाट दलित समुदायका विरामीले कस्तो उपचार सेवा पाउँलान  ?  गुल्मीको एक स्वाथ्य संस्थामा  दलित समुदायकी एक स्वास्थ्यर्कीलाई सहकर्मीबट भएको चरम जातिय विवादले यस्ता सवाल उठेको छ । 

अस्लेवा स्वास्थ्य चौकी सत्यवती–१, अस्लेवामा कार्यरत रेखा घिमिरे बिश्वकर्मा  समुदायकी  स्वास्थ्यकर्मी हुन । उनलाई त्यही कार्यरत अर्की अनमी लक्ष्मी पाण्डेले छुवाछुद विभेद गर्दै आई रहेकी छन । 

अनमी घिमिरे भन्छिन–‘ ६–७  जना स्टाफ छौं ।  अरु कसैले विभेद गर्नु हुन्न ।  लक्ष्मी म्याडमले मात्रै असाध्धै छुवाछुत विभेद गर्नु हुन्छ । हामी संगै उपचार गर्न पनि हिड्नु पर्छ । गाउँ–समाजमा जाँदा पनि मलाई  उहाँले  तल्ला जातकी हो भनेर भनि दिनु हुन्छ ।

अफिसमा काम गर्दा चिया र पानी समेत मैले छोएको खानु हुन्न ।  कहिले काँही हामी संगै वसको वेला चिया र पानी कसैले पिउन दियो भने उहाँले पेट दुखेको वाहना पार्नु हुन्छ  ।  सरकारी स्वास्थ्य संस्थामा नै यस्तो विभद हुन्छ भने समाजका सर्वसाधरणको  अवस्था के होला ? उहाँको विभेदले मलाई टिक्नै गाह्रो परेको छ ।’

यस सम्वन्धमा सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवाका वडाध्यक्ष भिमप्रसाद पाण्डेको ध्यानकृष्ट गराउँदा  उनले पनि अनमी घिमिरेवाट त्यस्तो गुनासो आएको बताए । उनले भने–‘ हो त्यस्तो विभेद भएको सुनेपछि आजै म त्यहाँ गएर सम्झाएको छु , आगमी दिनमा त्यस्तो नगर्ने भएका छन । ’

श्रीमान श्रीमति एकैठाउँ भएपछि मनपरी

त्यस स्वास्थ्य चाकैका प्रमुख अहेव कृष्णप्रसाद पाण्डे र अनमी  पाण्डे श्रीमान श्रीमति हुन । उनिहरुको त्यही स्वास्थ्य चौकी नजिकै पाण्डे मेडिकल क्लिनिक रहेको छ । उनिहरु श्रीमान श्रीमतिले  झोलामा औषधी ओसार–पसार र विक्रि वितरण गर्ने गरको आरोप समेत स्थानियले लगाउँदै आएका छन   ।

स्वास्थ्य चौकी प्रमुख पाण्डेले भने ति आरोपहरु निराधार भएको दावी गरे । उनले भने–‘ अरु कुरा त सवै निराधार हुन ,   छुवाछुत विभेदको सम्वन्धमा आजै वडाध्यक्ष आएर भन्नु भएको छ । छुवाछुत उनले गरे जस्तो त लाग्दैन ।  यदि गर्ने गरेको  भए आगमी दिनमा त्यस्तो हुने छैन ।’  श्रीमति पाण्डे संग भने उनले सम्पर्क गराउन चाहेनन ।

सरकारी कार्यालय मै छुवाछुत ? यो गम्भीर विषय हो । यस सम्वन्धमा जिल्ला जनस्वास्थ्य प्रमुख उत्तम कोईराला र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको समेत ध्यानकृष्ट गराईको छ ।

कोईराला र पौड्याल दुवैले सरकारी कर्मचारी विच मै त्यस्तो छुवाछुद विभेदलाई गम्भीर रुपमा लिएर सम्वन्धित  स्वास्थ्य चौकी संग कुरा गर्ने प्रतिकृया दिए ।  प्रजिअ पौड्यालले त मुद्धा नै हालि दिने चेतावानी दिएका छन । केहि स्थानिय तहमा जनप्रतिनिधी विच पनि छुवाछुत विभेद हुने गरेको पाईएको छ ।

संगै वसेर चिया पिउँदा कतिपय महोदयलाई तत्काल ग्याँस्टीक र पेट दुखाईले थला पार्ने गर्दछ ।  कतिपयले भोली बाबुको श्रद्धा छ आज एकछाकी बसेको छु  भन्ने वाहना परेर त्यो चिया नपिउने गरेको दलित समुदायका जनप्रतिनिधीहरुले गुनासो गर्छन ।

त्यस्तो बेला तत्काल लाग्ने  उनिहरुको त्यो ग्याँस्टीक रोग अब कानुनी  उपचार बाटै निको पार्नु पर्ने देखिएको छ । वाहिरी रुपमा छुवाछुत , भित्री रुपमा  दलित समुदायले राँगा–पाडा काट्दा रातको समयमा लुकाएर ल्याई दिनु मासु भन्दै सुटुक्क पैसा दिने गरेको पनि पाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!