सम्बन्ध बिच्छेदका कारण: अपरिपक्व उमेरमै विवाह र बैदेशिक रोजगारी

Posted on: 13 Jul, 2018

असार २९, सल्यान | पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् । 

जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीले सबैभन्दा बढी सम्बन्धबिच्छेदको निवेदन दिने गरेका छन् । “सम्बन्धबिच्छेद गर्न आउने धेरैलाई परामर्श गरेका छौँ तर उनीहरु सहमतिमै सम्बन्धबिच्छेद गर्न आउने भएकाले हाम्रो कुरा सुन्न चाहन्नन्”, धामीले भन्नुभयो । सम्बन्धबिच्छद गर्न आउने ५० प्रतिशतभन्दा बढीका सन्तान हुने र तिनीहरुको भविष्य अन्योलमा हुने गरेको धामीले बताउनुभयो । “सम्बन्धबिच्छेद गर्दा आमासँगको सन्तानलाई बाबुले पाल्ने भन्ने कुरा हुन्छ, पछि के हुन्छ थाहा हुँदैन यसले गर्दा बालबच्चाको लालनपालनका समेत समया आउने गर्छ”, धामीले भन्नुभयो । 

परिपक्व नहुँदै प्रेम विवाह गर्ने र उमेर पुगेपछि सम्बन्धबिच्छेद गर्ने समस्या हुने गरेको धामीको भनाइ छ । वैदेशिक रोजगारीका कारण पनि सम्बन्धबिच्छेद हुने गरेको अदालतका स्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिनुभयो । गत आवमा सम्बन्धबिच्छेदका ९९ मुद्दा परेकामा चालु आवमा १०० वटा मुद्दा परेको गौतमले जानकारी दिनुभयो । यस्तै गत आवमा अंश दावीसहित २७ मुद्दा दर्ता भएकामा चालु आवमा ३२ मुद्दा दर्ता भएको छ । यस्तै पुरुषवादी भएको एउटा मात्र मुद्दा दर्ता भएको अदालतले जनाएको छ । 

चालु आवमा जबर्जस्ती करणीका १० मुद्दा तथा जबर्जस्ती करणी उद्योगअन्तर्गत आठ मुद्दा दर्ता भएको गौतमले बताउनुभयो । चालु आवमा हाडनाता करणीका दुई मुद्दा दर्ता भएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!