रोल्पामा सिमेन्ट उद्योग र स्थानीयवासीबीच विवाद

Posted on: 13 Jul, 2018

उमा केसी | असार २९, रोल्पा | त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित सिमेन्ट उद्योग र स्थानीयबीच विवाद चर्किएको छ । 

उद्योग स्थापना गर्दा आफूहरुसँग गरिएको प्रतिबद्धताअनुसार काम नगरेको जनाउँदै स्थानीयवासीले विरोध गरेपछि विवाद शुरु भएको हो । उद्योग स्थापना गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर दिने, उद्योगबाट उत्सर्जन हुने धुवाँधुलोको व्यवस्थापन गर्दै पर्यावरणीय सन्तुलन कायम राख्ने, विकासका सबै गतिविधि वातावरणमैत्री बनाउने लगायत विषयमा उद्योगले स्थानीयवासीसँग सम्झौता गरेको थियो । लामो समय बितिसक्दा समेत उद्योगले सम्झौता कार्यान्वयन नगरेपछि स्थानीयवासी आक्रोशित भएको स्थानीयवासी मोहन परियारले बताउनुभयो । 

सम्झौता कार्यान्वयन गर्नाको साटो स्थानीयवासीले पुस्तौंदेखि उपभोग गरिरहेको खानेपानीको मुहानबाट जबर्जस्ती पानी लगेको कारण उनीहरु थप आक्रोशित भएका हुन् । विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नाको साटो स्थानीयवासी, स्थानीय सरकार र अन्य सरोकार भएकाहरुसँग समेत उद्योगले दूरी बढाउँदा असहजता बढेको परियारले बताउनुभयो । उद्योगले ज्यालामा समेत विभेद गरेको स्थानीयवासीको आरोप छ । 

सम्झौता कार्यान्वयन नगरिए कारखाना बन्द गराउनेसम्मको तयारीमा स्थानीयवासी रहेको बताइएको छ । उद्योगको कच्चा पदार्थ उत्खननका समयमा बिग्रिएका खानेपानीका मुहानको अझै मर्मत नगरिएको स्थानीयवासी सन्तोष शर्माले बताउनुभयो । सिमेन्ट रोल्पामा उत्पादन भए पनि जिल्ला बाहिर बिक्री हुँदा जिल्लावासीले महँगो ढुवानी खर्च तिरेर बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । 

उद्योगले स्थानीय सरकारसँग समेत समन्वय नगरी आफूखुशी काम गरिरहेको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले आरोप लगाउनुभयो । “समन्वयका लागि पटक पटक आग्रह ग¥याँै तर आफुखुशी काम गरिरहेको छ”, ओलीले भन्नुभयो, “गाउँपालिका क्षेत्रबाट दाङतर्फ ढुंगा ढुवानी गरेको पाइएकाले हामीले निकासी कर उठाउँदा उद्योगले अख्तियारमा मुद्दा दायर गरेको छ ।स्थानीयसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुको विकल्प छैन ।” 

उद्योगले दाङतर्फ ढुवानी भइरहेको ढुंगा रोक्का गरी पाउन गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकाले आफूले तत्कालका लागि ढुंगा ढुवानी बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गजबहादुर एमसीले बताउनुभयो । उद्योगको स्थानीय जनता, स्थानीय सरकार, स्थानीय टिपर व्यवसायी र राप्ती माइनिङ कन्ट्रक्सनसँगसमेत विवाद रहेकाले आफूहरुको पहलमा उक्त विवाद मिलाउने प्रयास गरिएको एमसीको भनाइ छ । स्थानीयवासीसँग गरिएका प्रतिबद्धता पूरा गरेर सहज ढंगले काम गर्ने वातावरण मिलाउन एमसीले उद्योगलाई सुझाव दिनुभयो । 

उद्योगले स्थानीय जनतासँग गरेका शर्त पालना नगरेको तथा अन्य सरोकार भएकाहरुसँगसमेत सौहार्दता कायम गर्न नसकेको जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बूढाले बताउनुभयो । उद्योगको गतिविधिप्रति स्थानीय जनता र अन्य सरोकार भएकाहरुसमेत सन्तुष्ट छैनन् । उद्योग, माइनिङ कन्ट्रक्सन र स्थानीय जनतासँग छलफल गरी विवाद हल गर्ने गरी सम्झौता गरिएको बूढाले बताउनुभयो । माथिको पहुँचका आधारमा उद्योगले स्थानीयवासीसँग समन्वय नगरी आफुखुशी काम गर्न खोजेकाले समस्या बढेको हुन सक्ने प्रमुख बूढाको भनाइ छ । 

केही महिना यता मात्रै उद्योग किनेर सञ्चालन गर्न थालेकाले यसपूर्व भएको सम्झौताबारे आफूहरुलाई जानकारी नभएकाले साझा बुझाइमा समस्या आएको उद्योगका प्रशासन तथा अप्रेशन प्रमुख टेकबहादुर गुरुङले प्रतिक्रिया दिनुभयो । उद्योगमा ५० प्रतिशत बढी स्थानीय कर्मचारी रहेको बताउँदै केही विशेषज्ञ जनशक्ति जिल्लामा नपाइने भएकाले बाहिरबाट ल्याउनुपरेको उहाँले बताउनुभयो । स्थानीय जनताका लागि रोजगारीका अवसर सिर्जना गर्ने कुरामा आफूहरु संवेदनशील रहेको गुरुङको भनाइ छ । 

उद्योगबाट निस्कने धुलोधुवाँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराले आफूहरुलाई पनि गम्भीर बनाउने रहेको बताउँदै उहाँले यसको न्यूनीकरणका लागि सामान खरीद गरिन लागेकाले निकट भविष्यमा यो समस्या हल हुनेमा आफूहरु आशावादी रहेको बताउनुभयो । राप्ती माइनिङ कन्ट्रक्सन र सिमेन्ट उद्योगबीच मुख्य विवाद रहे पनि स्थानीय बासिन्दा र स्थानीय सरकारसँग पनि विवाद जोडिनु दुःखद् रहेको गुरुङले बताउनुभयो । बिजुलीको भरपर्दो व्यवस्था नहुनु र कच्ची सडकमा भारी सवारी साधन चलाउन नसक्ने अवस्था रहेका कारण उद्योग सञ्चालनमा आफूहरुले पटक पटक समस्या भोग्दै आएको गुरुङले दुखेसो पोख्नुभयो । 

विसं २०६६ मा स्थापित उद्योगले दैनिक दुई हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । सयभन्दा बढी प्राविधिक तथा अन्य कर्मचारी र मजदूरले रोजगारी पाएको उक्त उद्योगबाट उत्पादित सिमेन्ट भने जिल्ला बाहिर जान्छ । निर्माणका लागि गुणस्तरीय मानिने सो सिमेन्ट रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सुर्खेतलगायत जिल्लामा खपत हुँदै आएको उद्योगले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!