बित्थड चिर गाउँपालिकाले गर्यो मदिरा निषेध गर्ने निर्णय, बिक्री गरे जरिवाना

Posted on: 19 Jul, 2018

सम्राट सिंह/साउन ३, बझाङ | जिल्लाको बित्थड चिर गाउँपालिकाले मदिरा निषेध गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मदिरा सेवन ले गर्दा समाजमा झै—झगडा हुने, चोरी डकैतीका घटनामा वृद्द्दी हुने , महिला हिंसा तथा बलात्कार जस्ता घटनाहरुमा बृद्घि हुने लगायतका विभिन्न अपराधिक कृयाकलापहरु पनि मदिरा सेवन कै कारण हुने भएकाले मदिरा निषेध गर्ने निर्णय गरेको हो ।

बित्थड चिर गाउँपालिकाले गाउँ सभाबाट मदिरा निषेधित गरे पश्चात आफ्नो गाउँपालिका भित्र मदिरा बिक्री बितरण गर्नेलाई रु. २५ हजार, मदिरा सेवन गर्नेलाई रु. १० हजार जरिवाना गर्ने निर्णय समेत गरेको छ । 

जिल्लामा घट्ने अधिकांश घटनाहरु मदिरा सेवनका कारण घट्ने भएकाले बित्थड चिर गाउँपालिकाको मदिरा निषेध गर्ने निर्णय स्वागत योग्य भएको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । चिर बित्थड गाउँपालिका जस्तै जिल्लाका सम्पूर्ण स्थानिय तहहरुले मदिरा निषेध गरी समृद्घ बझाङ बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खाद्यान्न भन्दा मदिरा बढी आयात हुने बझाङ जिल्लामा हत्या, हिंसा , चोरी डकैती, महिला हिंसा, बलात्कार जस्ता अपराधिक क्रृयाकलापहरु पनि मदिरा सेवनका कारण नै हुने गरेको जिल्ला प्रहरी कार्यालय बझाङको तथ्यांकमा उल्लेख छ । 

मदिरा सेवनको कारण समाजमा विकृति फैलिएकोले बित्थड चिर गाउँपालिका भरी मदिरा बिक्री बितरण गर्न रोक लगाइएको बित्थड चिर गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बोहराले बताए । मदिरा जस्ता समाज विकासका बाधकहरुलाई बित्थड चिर गाउँपालिकामा रोक लगाई जिल्लाको समृद्घ गाउँपालिका बनाउने उद्येश्य रहेको उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!