जाजरकोट खलंगामा सिसी टिभी

Posted on: 20 Jul, 2018

साउन ४, जाजरकोट | सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ। भेरी नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा खलंगामा सिसी टिभी जडान भएको हो। 

खलंगा बजार सिसी टिभीको निगरानीमा रहने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन्। सदरमुकामको तल्लो थाप्ले, ठाँटीबजार, गैरीखाली, शान्ति चौतारा लगायतका क्षेत्रमा सिसी क्यामरा जडान गरिएको भेरी नगरपलिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो। 

सदरमुकामभित्र दैनिक चोरी डकैती, झै–झगडा, विकृति बढ्न थालेपछि सिसी क्यामरा जडानको काम गरेको प्रमुख घर्तीले बताउनुभयो। 

नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा सिसी क्यामरा जोडिएको उहाँको भनाइ छ। सिसी क्यामरा जडानपछि खलंगामा हुने विभिन्न अपराध, चोरी, डकैती, झैझगडा, शान्ति सुरक्षा भंग गर्नेलगायत गतिविधिमा कमी आउने प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंहले बताउनुभयो। 

यसैबीच जिल्ला सुरक्षा समितिले सदरमुकाम खलंगाभित्र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न निश्चित स्थान तोकेको छ। 

समितिले तल्लो थाप्ले, ठाँटीबजार र गैरीखालीमा मात्र सार्वजानिक कार्यक्रम गर्न दिने गरी स्थान तोकेको हो। तोकेका स्थानबाहेक अन्य स्थानमा आमसभा, हडताल, प्रदर्शन, जुलुसलगायत कार्यक्रम गर्न प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो। 

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं ३० अनुसार उक्त निर्णय गरेको प्रजिअ बस्नेतले जनाउनुभयो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!