गोकुलेश्वर बजार बाढीको जोखिममा

Posted on: 23 Jul, 2018

साउन ७, बैतडी । वर्षात्को समय जारी रहँदा बैतडी दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ । 

बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका–५, हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको वादीबस्ती जोखिममा छ । नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् । 

पुराना संरचनामात्र होइन नयाँ बन्ने घर पनि नदी छेउमै बन्न थालेका छन् । हरिनगरमा विसं २०५० मा दार्चुला जोड्ने सडकले गोकुलेश्वर छोएसँगै बगरमा घर बन्ने क्रम बढेको हो । यहाँ करीब चार दर्जन घर बनिसकेका छन् । ४० परिवार रहेको पारि दार्चुलातर्फको वादीबस्ती पुरानो बस्ती हो । तीमध्ये अधिकांश छ वर्षयता बनेका हुन् । 

दार्चुलामा पर्ने गोकुलेश्वरमा भने अस्पताल, विमानस्थल, क्याम्पसलगायत सरकारी र निजी संरचना छन् । वादीबस्तीको माथिसम्म तटबन्ध गरिएको छ । वारि बैतडीमा तटबन्ध नहुँदा नदी सर्दै आएको छ । “कति बेला नदी बजारमा पस्छ सधैँ डर भइरहन्छ,” स्थानीय व्यापारी सुरेश श्रेष्ठले भन्नुभयो, “पारिको तटबन्ध र वारि छेउबाटै घर बनेकाले जोखिम बढी छ ।” 

माथिल्लो बस्ती सनगाउँ र देवगाउँबाट आउने पहिरोले अर्को जोखिम थपिएको छ । पहिरोमा सधैँ लेदो बग्ने गरेको छ । पहिरोले खोला पुरिएर बजारमा पस्ने खतरा छ । बर्खामा घरको आधा तलासम्म पानी उक्लिने बजार पस्ने बाटोसमेत बन्द हुने गरेको स्थानीय बताउँछन् । 

वादी परिवारको अन्य ठाउँमा सर्ने विकल्प छैन । दुई परिवारबाहेक कसैको नाममा जग्गा छैन । हिउँदमा अढाइ मिटर बहाव रहने चमेलिया नदी बर्खामा बढ्न थाल्छ । बर्खामा छ मिटरसम्म गहिरो बन्ने वर्षामापन केन्द्रको तथ्यांकमा छ । 

पहाडी क्षेत्र भएकाले माथिल्लो क्षेत्रमा बाढीको पूर्वसूचना संयन्त्र स्थापना गर्न सकिएको छैन । गैरसरकारी संस्थाको सहयोगमा माथिल्लो तटीय क्षेत्रका समुदाय र प्रहरीचौकीमा विपद् पूर्वसूचनाका लागि सञ्चार संयन्त्र राखे पनि प्रभावकारी हुन सकेको छैन । 

स्थानीयतहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिनुपर्ने भए पनि बर्सेनी घर बनाउने क्रम रोकिएको छैन । जोखिमयुक्त ठाउँको बस्ती अन्यत्र सार्न पहलसमेत नगरेको स्थानीयको गुनासो छ । 

खोलाले करीब २०० रोपनी खेत बगरमा परिणत गरेको डिलासैनी वडा नं १ का अध्यक्ष अक्कलबहादुर रानाले बताउनुभयो । पानीको बहावका कारण आएको बाढीले खानेपानीका मुहान, पाइप तथा धारासमेत बगाई दिँदा खानेपानीको समस्या भएको उहाँले बताउनुभयो ।  (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!