दोलखाको भिरकोटमा बोलेरो जिप दुर्घटना, १ जनाको मृत्यु २ घाईते

Posted on: 24 Jul, 2018

ताराबहादुर महत । श्रावण ८, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा न. १ भिरकोटमा मंगलवार बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चरिकोटबाट काठमाडौं जाँदै गरेको बा १९ च ५४२० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई भिरकोटको माझी गाउँमा  दुर्घटना हुँदा भिमेश्वर नगरपालिका वडा नं ७ का मनहरी थापाको घटना स्थलमै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । मृतक थापा जिल्ला समन्वय समिति दोलखामा नायब सुब्बा पदमा कार्यरत कर्मचारी हुन ।

 दुर्घटनामा परी जिल्ला समन्वय समिति दोलखाका इन्जिनियर नारायण शिवाकोटी र गाडी चालक कर्णबहादुर कुसुले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी प्रहरी निरिक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनाका गम्भीर घाईते  शिवाकोटीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भईरहेको जनाईएको छ । उनको टाउको,  तालुको भाग र देब्रे आँखामा पनि गहिरो चोट देखिएको छ । चालक कुसुलेको धुलिखेल अस्पताल किर्नेटारमा उपचार भईरहेको छ । घाईते दुवै जनालाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी रहेको प्रहरीले जनाएको छ। पछिल्लो समय विभिन्न कारणले दोलखामा बोलेरो गाडी दुर्घटना  हुने क्रम बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!