लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना जोगाउँदै प्रहरी

Posted on: 26 Jul, 2018

साउन १०, सुर्खेत (रासस) | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरी अभियान थालेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सो अभियान थालेको हो । समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा विद्यालयस्तरबाट प्रहरीले सचेतना अभियान थालेको हो । वीरेन्द्रनगर नगरपालिका–८ को सिद्धपाइला अंग्रेजी विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दुव्र्यसनी र लागूऔषधका विषयमा सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिनुभयो । 

“कार्यक्रममा प्रथमतः बालबालिकालाई लागूऔषध दुव्र्यसनीसम्बन्धी जानकारी, त्यसको असर र बच्ने उपयाका बारेमा प्रष्ट पारिएको छ,” प्रहरी नायब उपरीक्षक चौधरीले भन्नुभयो । त्यस्तै लागूऔषधी दुव्र्यसनीमुक्त समाज बनाउन अभिभावक र शिक्षकले पूरा गर्नुपर्ने दायित्वका विषयमा पनि विशेष जोड दिइएको उहाँको भनाइ छ । 

त्यसैगरी, लागूऔषध दुव्र्यसनीको उत्पादन, बिक्री वितरण र त्यसको प्रयोगकर्तालाई हुने कानूनी कारबाहीका विषयमा पनि जानकारी गराइएको प्रहरीले बताएको छ । पछिल्लो समयमा समाजमा दिनहुँरुपमा लागूऔषधको दूव्र्यसनी, जुवातास, मद्यपानजस्ता विकृति बढ्दै जान थालेपछि सचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । 

दुव्र्यसनी किशोर अवस्थाबाट शुरु हुने भएकाले यही उमेर समूहका विद्यार्थीका लागि सचेतना कार्यक्रम प्राथमिकता दिइएको उहाँले बताउनुभयो । दुव्र्यसनीसम्बन्धीको सचेतना कार्यक्रममा उक्त विद्यालयका ७८ जना बालबालिका सहभागी भएका थिए । विद्यार्थीबाट समाजमा छिटो सचेतना फैलिने भएकाले उनीहरुलाई यस कार्यक्रममा सहभागी गराइएको प्रहरीले जनाएको छ । 

सुर्खेत प्रहरीले यो अभियानलाई यहाँका सबै स्थानीय तहसम्म लैजाने र त्यहीअनुरुपको वार्षिक योजना निर्माण भएको बताइएको छ । यसबाट समाजमा हुने विभिन्न खालका अपराधमा कमी आउने र विकास एवं परिवर्तनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!