तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता, पाँचबुदे सहमति भए

Posted on: 26 Jul, 2018

साउन १०, रत्ननगर, चितवन | चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् । 

बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि तीनपांग्रे सवारी चालकले आन्दोलन स्थगित गरेका हुन् । 

साथै यसअघि महानगरपालिकाले कायम गरेको १८ वटा क्रसिङ प्वाइन्टसहितको सवारी रुटअनुसार नै सवारी सञ्चालन गर्ने सहमतिसमेत भएको भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । 

साथै उक्त रुटमा सवारी सञ्चालनमा कुनै समस्या भएमा सहजताका लागि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहको संयोजकत्वमा एक कार्यदल समेत गठन गरिएको छ । 

उक्त बैठकले बुधबार प्रहरी र सवारी चालकबीच भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै गोली लागी घाइते भएका नवलपुरको गैँडाकोट–४ का ३० वर्षीय महेन्द्र सुनारको उपचार भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको समन्वय र व्यवस्थापनमा गर्ने निर्णय भएको छ । 

यसअघि महानगरको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका तीनपांग्रे सवारी चालक र प्रहरीबीच बुधबार भरतपुरमा झडप हुँदै १५ सुरक्षाकर्मीसहित १९ जना घाइते भएका थिए । 

आन्दोलनकारीले ना १६ प ९४०७ नंको मोटरसाइकल जलाएका छन् भने पार्किङ गरिराखेको बा १६ च १९३८ नंको कार र ना १ ज ४९७५ नंको म्याजिक भ्यानसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ । 

गत साउन ५ गतेको निर्णयअनुसार भरतपुर महानगरले भरतपुरको मुख्य सडकमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!