बंगुरपालनबाट मनग्य आम्दानी

Posted on: 26 Jul, 2018

साउन १०, कञ्चनपुर | कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु छ लाख नाफा गर्नुहुन्छ । 

उहाँले रु १० लाख बराबरको बंगुरको मासु तथा रु दुई लाख १० हजार बराबरको बंगुरको पाठापाठी बिक्री गर्नुभएको हो । चौधरीको फार्ममा चार जाताका माउ बंगुर पालिएका छन् । “अझै ३० वटा बंगुर थप्ने योजना छ,” उहाँले भन्नुभयो । 

बंगुरपालनबाट गरेको रु तीन लाख ५० हजार खर्चेर उहाँले ५० वटा बंगुर अटाउने आधुनिक फार्म निर्माण गर्नुभएको छ । चौधरीले रु तीन लाखमा फार्मका लागि जग्गा खरिद गर्नुभएको हो । 

घरेलु तथा साना उद्योग कार्यालयबाट चार वर्षअघि सातदिने तालीम लिएर उहाँले आधुनिक तरिकाले बंगुरपालन गर्न थाल्नुभएको हो । “बालबालिकाको पढाइ तथा घर खर्च बंगुरपालनको आम्दानीले धानिएको छ,” उहाँले भन्नुभयो । बंगुरपालनपछि आर्थिक अभाव नभएको उहाँ बताउनुहुन्छ । 

बंगुरपालनको आम्दानी चौधरीले पक्की घर निर्माणका लागि बैंकमा बचत गर्न थाल्नुभएको छ । रु एक लाख ऋण काढेर उहाँले चार वर्षअघि बंगुरपालन व्यवसाय थाल्नुभएको हो । बंगुरपालनका लागि लिएको ऋण उहाँले दुई वर्षमै चुक्ता गर्नुभयो । “हिम्मत गरेर आफ्नै खुट्टामा उभिए अरुको भर पर्नु पर्दैन,” उहाँले भन्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!