खुराफाती संस्कारको विकास किन ?

Posted on: 27 Jul, 2018

प्रभात सुवेदी । साउन ११, बर्दिया । 

वर्तमान समयमा गुरुको मार्गदर्शन अनुसरण गर्न नसक्दा र गुरुज्ञानको कमी र परिपालना नहुँदा समाजमा खुराफाती संस्कारको विकास भएको आज गुलरियामा व्यास जयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा बोल्ने धार्मिक अभियान्ताहरुको भनाइ रहेको छ ।


प्रत्येक वर्ष असार शुक्ल पूर्णीमाका दिनमा चार वेद तथा अठार पुराणका रचयिता महर्षि ऋषि वेदव्यासको जन्म जयन्ती मनाइने गरिएको छ । हिन्दू धर्मका मात्रै नभएर विश्वकै प्रथम गुरुका रुपमा रहेका व्यासले ब्रह्माजीका चारओटा मुखारविन्दबाट सुनेको ज्ञानलाई भगवान गणेशजीबाट लिपिवद्ध गराई लेख्न लगाउनुभएको धार्मिक मान्यता रहेको छ । 

कार्यक्रममा व्यास मन्दिर रहेको गुलरिया नगरपालिका ७ को शान्तिटोलमा व्यासको मूर्तिमा पूजा अर्चनापश्चात विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै धार्मिक व्यक्तित्व पुण्यप्रसाद गौतमले गुरुविना कुनै पनि ज्ञान अधुरो हुने भएको हामीले गुरुलाई तेत्तीस कोटी देवतामध्ये तीन देवताका रुपमा लिने गरेको बताउनुभयो । त्यसैले नै हाम्रो शास्त्रले गुरु ब्रह्मा, गुरु विष्ण, गुरुर्देवो महेश्वर भनेको छ, वहाँले बताउनुभयो । 

यसैगरी पण्डित डिल्ली प्रसाद आचार्यले व्यासको महत्व र गुणगान त्यसै आएको हैन । यसको धार्मिक महत्व वेदका ९६ हजार मन्त्र अनि हामीले धारण गर्ने जनैका सूत्रहरुमा समेत रहेको बताउनुहुँदै राणाकालमा तथा राजाहरुको पालामा गुरुलाई श्री ६ को उपाधि दिइनुले पनि गुरु नै सर्वश्रेष्ठ मान्न सकिने कुरा बताउनुभयो । 

पण्डित जनार्दन आचार्यले मानिसलाई सुमार्गमा लगाउने व्यक्ति नै गुरु भएकोले पनि आदिमकाल देखि नै गुरुका रुपमा आदर्श पुरुष वा महिलालाई हिन्दू दर्शनले पुज्यनीय मान्दै आइरहेको स्मरण गर्नुभयो । 

कार्यक्रममा स्थानीय विद्दान व्यक्तित्वहरु, महिला, भद्रभलाद्मीहरु लगायत ५ दर्जनको उपस्थिती रहेको थियो । राधाकृष्ण वेदव्यास बाटिका मन्दिरका अध्यक्ष खेमराज गौतमकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण हरिहर शर्मा आचार्य र विष्णु प्रसाद मरासिनीले गर्नुभएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!