बागलुङका जोखिमपूर्ण बस्ती सार्न विज्ञको सुझाव

Posted on: 27 Jul, 2018

रामबहादुर थापा | साउन ११, बागलुङ | पहिरोको उच्च जोखिममा रहेका जिल्लाका केही बस्तीलाई स्थानान्तरण गर्नुपर्ने सुझाव भूगर्भविद्ले दिएका छन् । 

वर्षेनी पहिरोको चपेटामा पर्दै आएका निसीखोला गाउँपालिका– १ हुल्दी र २ का बाहुन गाउँलाई सुरक्षित ठाउँमा सार्न उनीहरुले सुझाव दिएको हो । 

खानी तथा भू–गर्भ विभागबाट आएको भूगर्भविद्को टोलीले स्थलगत अध्ययनपछि त्यस्तो सुझाव दिएको हो । तत्काल पहिरो रोकिने सम्भावना नरहेपछि बस्ती नै स्थानान्तरण गर्नु उपयुक्त हुने विभागकी वरिष्ठ भूगर्भविद् मोनिका झाले बताउनुभयो । 

भूगर्भको कमजोर संरचना, भौगोलिक बनावट र जभाभावी खनिएका सडकका कारण बस्ती जोखिममा परेको उहाँको भनाइ छ । 

‘पूर्व सजगता र रोकथामका उपायले पहिरो रोकिने अवस्था छैन,’ उहाँले भन्नुभयो, “बस्ती नै अन्यत्र सार्नु उत्तम हुन्छ ।” 

हिरो र भूवनोटको अवस्थालाई हेर्दा अझै १० वर्ष पहिरो रोकिने सम्भावना नरहेको भूगर्भविद्को अनुमान छ । दुई वर्षअघिको भिषण पहिरोले त्यस क्षेत्रका दर्जनौं घरपरिवार विस्थापित बनेका थिए । अहिले पनि कोही विस्थापित अवस्थामा छन् भने कोही जोखिम मोलेर भएपनि पहिरो प्रभावित बस्तीमै बसेका छन् । 

केही दिनपछि विस्तृत अध्ययन प्रतिवेदन तयार पारी सम्बन्धित विभाग र मन्त्रालयमा बुझाइने सो टोलीले जनाएको छ । अध्ययन टोलीमा वरिष्ठ भूगर्भविद् झा, भूभर्गविद् निता भट्टराई लगायत संलग्न थिए । टोलीले प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सम्बन्धित कार्यालयका प्रमुखलाई अध्ययनको प्रारम्भिक जानकारी गराएको छ । 

भूगर्भविद्को टोलीले काठेखोला गाउँपालिका–५ काउलेको पहिरो प्रभावित बस्तीको पनि स्थलगत अध्ययन गरेको छ । दुई साताअघि जमीन भासिएपछि काउलेका १४ परिवार विस्थापित बनेका थिए । 

मध्यपहाडी लोकमार्गको ढल व्यवस्थापन गरे काउले र आसपासका बस्तीमा जोखिम हट्ने अध्ययन टोलीले जनाएको छ । नाली नबन्दा सडकको ढल सिधँै काउले लगायतका बस्तीमा पस्ने गरेको छ । अन्यत्रबाट बस्तीमा सोझिने भेललाई व्यवस्थित गर्नुपर्ने बताइएको छ । अध्ययन टोलीले ढल निकासलाई तत्काल व्यवस्थित गर्न सुझाव पनि दिएको छ । 

पहिरो प्रभावित क्षेत्रका अन्य बस्ती जोगाउन ठाउँ–ठाउँमा ‘चेक ड्याम’ निर्माण गर्नुपर्ने पनि टोलीले सुझाव दिएको छ । सडकको ढल तत्काल सुधार र व्यवस्थित गर्न लोकमार्गको निर्माण कम्पनीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । प्रजिअ खरेलकै विशेष पहलमा पहिरो प्रभावित क्षेत्रमा विज्ञ लगेर अध्ययन गरिएको हो । 

‘विभागमा विशेष अनुरोध गरेपछि निसीखोलासम्म भूगर्भविद्ले पुगेर अध्ययन गर्ने वातावरण बन्यो,” प्रजिअ खरेलले भन्नुभयो । अध्ययन टोलीबाट विस्तृत प्रतिवेदन आएपछि सोही अनुसार तत्कालीन र दीर्घकालीन व्यवस्थापनका काम अघि बढाइने उहाँको भनाइ छ । 

तत्कालीन जिल्ला भू–संरक्षण कार्यालयले वर्षा अगावै गरेको सर्वेक्षण अनुसार जिल्लाका एक सय एक ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!