आगलागी पछि बन्द त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालनमा

Posted on: 30 Jul, 2018

साउन १४, नुवाकोट (रासस) | आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । 

गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो । 

तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताउनुभयो । “अब पूर्णरुपमा सञ्चालनमा आएको छ । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुई वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ । साविककै अनुसार उत्पादन भइरहेको छ । अहिले दुई वटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको छ” केन्द्र प्रमुख भट्टले भन्नुभयो । 

आगलागीपछि एक हप्तासम्म त्रिशूली जलविद्युत् र सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने देवीघाट जलविद्युत् केन्द्रको समेत उत्पादन भएको थियो । आगलागीको कारण करीब रु एक करोडको क्षति भए पनि विद्युत् उत्पादन बन्द हुँदा भने करोडौँको क्षति भएको केन्द्रले जनाएको छ । 

विद्युत् उत्पादन बन्द हुँदा कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले बताउनुभयो । त्रिशूली जलविद्युत् केन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौँको विद्युत् उत्पादन नोक्सानी भएको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!