राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा

Posted on: 03 Aug, 2018

साउन १८, पर्वत | साउन १ गते आएको बाढीले कटान गरेको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्ती खोला बस्तीको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज निरीक्षण गर्नुभएको छ । बाढीपहिरो पीडितको अवस्था बुझ्न उहाँ गृह जिल्ला पर्वत आउनुभएको हो । 

पहिरोका कारण स्थानीय १२० घर जोखिम पर्नुका साथै १४ घर पूर्णरुपमा विस्थापित छन् । पहिरोले १६ वर्षीय विकास परियारको मृत्यु भएको थियो । गम्भीर घाइते भएका तीनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 

अध्यक्ष तिमिल्सिनाले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मृतकका परिवार र विस्थापित परिवारलाई राज्यकोतर्फबाट उचित राहत उपलब्ध गराइने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले पीडित परिवारलाई खाद्यान्न गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लमार्फत वितरण गर्नुभयो । 

जिल्ला विपद् व्यवस्थापन समितिको हालैको बैठकले खोलाको कटान नियन्त्रण गर्न रु तीन करोड ५० लाख ९० हजार माग गर्ने निर्णय गरेको छ । बाढी र पहिरोले कटान गरेको क्षेत्रमा भावी जोखिम नियन्त्रण गर्न नदीकिनारमा तत्कालै तटबन्ध बनाउनुपर्ने भएकाले गण्डकी प्रदेश तथा संघीय सरकारको भौतिक पूर्वाधार विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा रकम माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!