टेलिफोनको टावर माग्दै गाउँपालिका अध्यक्ष

Posted on: 03 Aug, 2018

साउन १८, जाजरकोट | सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम नमस्ते मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौँ पुगेका छन् । 

सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह टेलिकमको केन्द्रीय कार्यालय पुगेका हुन् । 

केही वर्षयता सञ्चार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माणपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग सहजरुपमा पाउनुपर्ने भन्दै केन्द्रीय कार्यालय पुगेको अध्यक्ष शाहले बताउनुभयो । तीन स्थानमा टावर स्थापना गर्न एस्टर नेपाल प्रालिले ठेक्का लिएर सामग्री ढुवानी शुरु भएको नेपाल टेलिकमका प्रबन्धक अनन्तमान सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार नायकबाडाको रतनकोटमा हाल सञ्चालनमा रहेको स्काइ मोबाइल सेवाको गुणस्तरलाई समेत अभिवृद्धि गरिनेछ । नयाँ निर्माण हुने टावर असोजदेखि सञ्चालनमा आउने छ । साविकको चार गाविसको बारेकोटमा सञ्चार सुविधाको नाममा रतनकोटमा रहेको एकमात्र स्काइ मोबाइलको टावरमा बारम्बार खराबी आइरहँदा सेवाग्राही मर्कामा छन् । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा जाने समस्याले आजित भएका बारेकोटका सेवाग्राहीले यी टावर बनेपछि राहत पाउने गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । 

बारेकोटमा सञ्चार सुविधा पुर्याउन यसअघि सञ्चार मन्त्रालय, नेपाल टेलिकमलगायतका निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको गुनासो छ । “अब ढिलै भए पनि बारेकोटका बासिन्दाले भरपर्दो सञ्चार सेवा तथा डाटा प्रयोग गर्न पाउने आशा छ”, उहाँले भन्नुभयो । बारेकोटमा टेलिकमको तीन वटा टावर निर्माण गर्ने हालका वनमन्त्री शक्तिबहादुर बस्नेतको चुनावी नारासमेत थियो । चुनावी नारा पूरा हुन थालेपछि स्थानीय बासिन्दा खुशी भएका छन् । जिल्लाका अन्य ठाउँमा टेलिफोन टावर विस्तार गर्न स्थानीयको माग छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!