पर्यटकीय होटलमा लगानी बढ्दो

Posted on: 04 Aug, 2018

नारायण अधिकारी | साउन १९, चितवन | विभिन्न पेशा व्यवसाय गर्दै आएका यहाँका वासिन्दाको आकर्षण पर्यटन व्यवसाय भएको छ । सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका कारण पछिल्लो समय अन्य पेशा व्यवसाय गर्नेको लगानी पर्यटकीय होटलमा हुन थालेको हो । 

चिकित्सक, कानून व्यवसायी, प्राध्यापक, पत्रकार, कलाकार, इन्जिनियर, अडिटर, शिक्षक, कर्मचारी, राजनीतिज्ञलगायतका क्षेत्रमा रहेकाले आफ्नै नेतृत्व वा सामूहिक लगानीमा पर्यटकीय होटलमा लगानी गरेको पाइन्छ । 

निर्माण व्यवसायी, पोल्ट्री व्यवसायी, घरजग्गा व्यवसायी, यातायात व्यवसायी, गैरआवासीय नेपालीलगायतले पनि पर्यटकीय होटलमा लगानी गरेका छन् । 

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे पछिल्लो समय विभिन्न पेशा र व्यवसायमा रहेकाले पर्यटन क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो रहेको बताउनुहुन्छ । 

जिल्लामा शिक्षा र स्वास्थ्यमा अग्रणी संस्थाको नेतृत्व गर्दै आउनुभएका इन्जिनियर बाबुराम उपाध्याय दुई ठूला होटलमा लगानी गरिरहेको बताउनुहुन्छ । भरतपुरमा बन्दै गरेको होटल सिराइचुलीका निर्देशक उपाध्याय निर्माणाधीन कविलास रिसोर्ट एण्ड फनपार्कको अध्यक्ष हुनुहुन्छ । 

शिक्षा र स्वास्थ्यको विकल्पका रुपमा पर्यटन व्यवसायमा लगानी गरेको उपाध्यायको भनाइ छ । 

पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलीप मैनाली पर्यटन क्षेत्रमा विश्वव्यापीरूपमा तरंग पैदा भएसँगै विभिन्न पेशा व्यवसायबाट यसमा लगानी गर्नेको संख्या बढेको बताउनुहुन्छ । उहाँले अबको उद्योग पर्यटन उद्योग हो भन्ने भावनाको जागरण बढेको बताउनुभयो । 

साना ठूला बैठक, वार्षिकोत्सव, अधिवेशन हुँदै विभिन्न चाडपर्वमा इष्टमित्र, साथीभाइ र कर्मचारीबीचमा होटलमा बसेर खाजा खाना खाने चलन पनि बढेर गएको छ । विदेशीसँगै आन्तरिक पर्यटक घुमफिर गर्न आउने प्रचलन पनि बढ्दो छ । जसका कारण सञ्चालनमा रहेका होटलले राम्रो व्यवसाय गरेका छन् । 

होटल सिराइचुलीका अध्यक्ष चुडामणि खनाल शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनिएको व्यक्ति हुनुहुन्छ । उहाँकै नेतृत्वमा सिराइचुली बन्दै छ भने उहाँसहितको समूहले अरु दुई ठूला होटल बनाउँदैछ । अरु क्षेत्रमा भन्दा होटल क्षेत्रमा सरकारको दृष्टिकोण स्पष्ट रहेका कारण यस क्षेत्रमा लगानी सुरक्षित हुने उहाँ बताउनुहुन्छ । 

झण्डै दुई दशक क्रियाशील पत्रकारिता गरिसक्नुभएका वसन्त पराजुली गैंडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक हुनुहुन्छ । अर्काे होटल पनि उहाँको समूहले बनाउँदैछ । पराजुली आर्थिक विकास र समृद्धिको लक्ष्य पूरा गर्न र दीर्घकालीन प्रतिफल दिन पर्यटन व्यवसायले नै सक्ने भएकाले आफू यस क्षेत्रमा लागेको बताउनुहुन्छ । 

होटल क्षेत्रमा लगानी गर्नुभएका राजनीतिज्ञ एवं प्राध्यापक जगन्नाथ थपलिया देशमा राजनीतिक स्थायित्व भएसँगै पर्यटन व्यवसायको भविष्य देखेर यसतर्फ लगानी गर्न विभिन्न पेशा व्यवसाय गरेकाहरू आकर्षित भएको बताउनुहुन्छ । जिल्लामा सुविधासम्पन्न होटल मटेलहरू बनिनसकेकाले अन्य पेशा व्यवसाय गरेकाले सामाजिक उत्तरदायित्वको भावना लिएर पनि यस क्षेत्रमा लगानी गरेको थपलिया बताउनुहुन्छ । 

भरतपुर महानगरपालिका–१ ठिमुरामा ठिमुरा रिभरसाइड रिसोर्ट बनाउँदै आउनुभएकी डा विष्णुमाया (बिएम) खरेल लगानीमा जोखिम कम हुने भएकाले होटल क्षेत्रमा लगानी गरेको बताउनुहुन्छ । खरेल दम्पत्तिले भरतपुरमा एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालन गर्दै आउनुभएको छ । होटल क्षेत्रमा पनि लगानी गर्नुभएका दन्तरोग विशेषज्ञ डा अजय न्यौपाने नेपालमा पर्यटन व्यवसायको भविष्य उज्ज्वल रहेको बताउनुहुन्छ । 

तेस्रो पर्यटकीय गन्तव्य चितवनमा विगत केही वर्ष जग्गा व्यवसाय फस्टाएको थियो । त्यतिबेला विभिन्न पेशाका व्यक्तिले राम्रो आम्दानी पनि गरेका थिए । सो रकम पनि अहिले होटल व्यवसायमा लगानी भएको छ । 

चितवन र नवलपुर क्षेत्रमा १५० पर्यटकीय होटल रहेका छन् । जसमध्ये ११० सौराहामा छन् । होटल व्यवसायमा १५ अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । यहाँका थारु संस्कृति हेर्न, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, पवित्र तीर्थस्थल देवघाट, सिराइचुलीलगायतका पर्यटकीय ठाउँ घुम्नका लागि यहाँ बर्सेनि दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!