हराईरहेका दुइ बालिका भेटिए, एक बालक अझै बेपत्ता

Posted on: 05 Aug, 2018

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङमा हराईरहेका दुइ बालिका फेला परेको छ । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्षीय कृष्ण कुमारी तामाङ फेला परेको हो ।

गत असार ३ गतेबाट एक्कासी हराएका दुइ बालिकालाई १ महिना १६ दिनमा हिजो उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१५ खाँवुस्थित रमा राईको घरमा फेला पारिएको सिमपानी ईलाका प्रहरी चौकी सिमपानीका असई प्रकाश चौधरीले जानकारी दिनुभयो । दुइ बालिकाले गाईघाटबाट फर्केको बताउदै खाँवुका स्थानिय वासिन्दा रमाको घरमा वास बसी आफन्तको नम्बर दिएर बोलाउन लगाएको र बालिकाको आफन्त लिनलाई गईसकेको प्रहरीको भनाई छ ।

हराएका दुइ बालिकाको स्वास्थ्य अवस्था कुनै समस्या नरहेको जनाईएको छ । लामो समयसम्म हराएका बालिकाको खोजीका लागि परिवार, आफन्त, छरछिमेक र प्रहरी जुटेको थियो ।  


यसैगरी, हप्तादिन यता हराईरहेका एक बालक अझै फेला परेको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदिप राई नाम गरेका बालक फेला नपरेको हो ।

गएको साउन १४ गते घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरुलाई मावला जाने भनी घर छोडेर हिडेका घरको कान्छा छोरा हालसम्म कतै फेला नपरेको आमा चित्रकुमारी राईले जानकारी दिनुभयो । सोझो र बेलाबेला प्रष्ट मुख नलाग्ने प्रदिप मावला खाल्लेहुंदै टेम्मा जान्छु भनेर हिडेको भएता पनि खाल्ले र टेम्मामा नभेटिएको आमा चित्रकुमारीले बताउनुभयो ।

प्याजी रंङको ज्याकेट, निलो पाईन्ट लगाएका बालक परिवार, आफन्तले खोजी गर्दा नभेटिएपछि परिवारले साउन १६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा खोजीका लागि निवेदन दिएको छ । बालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलले बताएको छ । आजबाट हराएका बालकको खोजीमा फेरी आमासहित छिमेकीहरु गाउँगाउँ निस्कनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!