प्रदेश सातका महिलाहरुको आन्दोलन जारी, महिलालाई रेप होइन सेभ गर्न माग (हेर्नुस् ६ तस्बिर)

Posted on: 06 Aug, 2018

साउन २१, कैलाली । बलात्कार विरुद्ध सात नम्बर प्रदेशका महिलाहरुले आज पाँचौ दिन पनि धनगढीमा आन्दोलन जारी राखेका छन् ।

देशमा दिन प्रतिदिन महिला तथा बालिका बलात्कार र बलात्कारपछि हत्याका घटना बढ्दै गरेको भन्दै महिलाहरुले प्रदर्शन र विरोधलाई निरन्तरता दिएका हुन् ।

मानवअधिकारकर्मी सावित्रा घिमिरेले बलात्कार जस्तो जघन्य अपराधमा प्रहरीलाई संवेदनशिल भएर अनुसन्धान गर्न र दोषी पत्ता लगाउन घच्घच्याउने उद्देश्यले महिलाहरुले प्रदर्शन गरिरहेको जानकारी दिइन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको ११ बितिसक्दा पनि प्रहरीले दोषीको पहिचान गर्न नसकेकोले मान्छेमा भय र त्रास बढेको पनि घिमिरेले बताइन् ।

मानवअधिकारकर्मी निर्मला बागचन्दले बालिका बलात्कार र हत्यामा संलग्नलाई यथासिघ्र कानुनी दायरामा ल्याउन माग गर्दै अधिकारकर्मीको अगुवाईमा धनगढीमा पाँच दिनदेखि जुलुस, धर्ना, ज्ञापन पत्र बुझाउने कार्यक्रम जारी राखेको बताइन् ।

बलात्कारीलाई हदैसम्मको कार्वाही गर, महिलालाई रेप होईन सेभ गर, महिला सुरक्षा कायम गर, लैंगिक हिंसा बन्द गर जस्ता नारा लगाएर अधिकारर्कीहरूआन्दोलनमा उत्रिएको पत्रकार उन्नती चौधरीले महिला खबरलाई जानकारी दिइन् ।

यस्तै आन्दोलनकारी महिलाहरुले राज्यले तत्काल कानुन परिमार्जन गरी बलात्कारीलाई आजिवन कारावासको सजाय तोक्न पनि माग गरेका छन् ।

आन्दोलनमा पुरुष सहभागिता न्यून

धनगढीमा जारी बलात्कार विरुद्धको आन्दोलनमा पुरुष सहभागिता न्यून छ ।

अधिकारकर्मी महिलाको सक्रियता र अगुवाईमा भइरहेको आन्दोलनमा दुई चार जनाबाहेक पुरुषको सहभागिता हुन नसकेको अधिकारकर्मी साबित्रा घिमिरेले बताइन् ।

बलात्कार जस्तो अपराध विरुद्ध पुरुषले नै आवाज उठाउनु पर्नेमा महिलाको अगुवाईमा भएको आन्दोलनमा समेत पुरुषहरुको सहभागिता नहुनु दुखद् भएको उनले बताइन् ।

आन्दखोलनमा महिलाको मात्रै सहभागिता हुनु भनेको बलात्कार महिलाको मात्रै सवाल हो । यस विरुद्ध महिलाले मात्रै बोल्नु पर्छ भन्ने पुरुषवादी चिन्तनलाई प्रष्ट्याएको पनि घिमिरेले बताइन् ।

कञ्चनपुरमा पनि आन्दोलन जारी

घटनाको ११ दिन बितिसक्दा समेत समेत अपराधी पत्ता लाग्न नसकेकोमा कञ्चनपुरवासीको आक्रोश साम्य हन सकेको छैन । स्थानीयले बालिका हत्याका विरुद्ध दैनिक प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा घटना अनुसन्धान गर्न एक टोली महेन्द्रनगर पठाएको थियो । सो टोलीसहित जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अनुसन्धानका क्रममा अहिलेसम्म ४० भन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ गरिसकेको जनाएको छ । तर बालिकाका बुबाले अनुसन्धान फितलो भएको र आफूहरुले शंका गरेका व्यक्ति समेत छाडिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

बालिकाको यही साउन ११ गते पानी जमेको उखु बारीमा लास फेला परेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!