घाँस काट्न गएकी एक महिलालाई बाघले लगेपछि...

Posted on: 06 Aug, 2018

साउन २१, रत्ननगर | चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । 

स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिनुभयो । 

उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एकजनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए । 

पाठकका अनुसार घटनास्थल नजीक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन । बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी दिनुभयो ।

चालु  आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको यो पहिलो हो । अघिल्लो वर्ष बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!