स्वर्गिय हरिप्रसाद भण्डारीको सम्झनामा ठुलासैनमा स्मृति पार्क र शालिक बनाईदै

Posted on: 09 Aug, 2018

होम साउद | साउन २४, अछाम । मंगलसेन नगरपालिका ६ हरिनगर (ठुलासैन) मा समाजसेवी स्वर्गिय हरिप्रसाद भण्डारीको सम्झनामा स्मृति पार्क र भण्डारीको शालिक निर्माण गरिने भएको छ । ठुलासैनलाई मंगलसेन नगरपालिका र अछामको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारण अनुसार नगरपालिकाले ठुलासैनमा हरिप्रसाद स्मृति पार्क तथा स्वर्गिय हरिप्रसाद भण्डारीको शालिक निर्माण गर्न लागेको हो । 

२०२४ सालमा तत्कालिन जिल्ला पञ्चायतका सभापति भण्डारी २ जिल्ला (डोटी र दैलेख) मा बिभाजित अछामलाई अलग जिल्ला बनाउन भुमिका खेल्ने मध्येका एक योद्धा हुन भने आफु सभापति भएकै बेला २०२४ सालमा अछाममा गाडि पुगाँउने ब्याक्ति हुन । जिल्लाको विकासका लागि सबैभन्दा पहिला सडक संजाल संग जोडिनुपर्छ भन्ने मान्यता सहित चिसापानी जंगलघाट हुदै मंगलसेन सम्म जनसहभागितामा सडक निर्माण गरि रसियन जिप सदरमुकाममा पुगाँउनुभएको थियो ।


समाजसेवा, जनताको हित र राष्ट्रप्रतिको उनको लगाबका कारण तत्कालिन राजा महेन्द्रबाट गोरखा दक्षीणबाहु पदकले सम्मानित समेत भएका हरिप्रसाद भण्डारीको योगदानलाई पछिल्लो कुनैपनी निकायले कदर गर्न नसकेको अवस्थामा मंगलसेन नगरपालिकाले स्मृति पार्क र शालिक निर्माण गरि सम्झीने प्रयास गरेको छ । स्मृति पार्क र शालिकका लागि गत आर्थिक वर्षमा ४ लाख लागतमा घेरापर्खाल र केही आधारभुत संरचना तयार गरिएको छ भने चालु आर्थिक वर्षमै सबै संरचना तयार गरिसक्ने गरि करिब १८ लाखको स्टमेट बनाईएको स्थानीय अगुवा हर्क भण्डारीले बतााउनुभयो ।


 ठुलासैन त्यसैपनी सुन्दर र रमणिय ठाउँ भएको र नगर मार्फत पनि पर्यटन प्रर्बद्धनका गतिबिधिहरु गरेर पर्यटन हवका रुपमा विकास गर्दै लैजाने गरि यो कार्यको थालनी गरिएको वडानम्वर ६ का वडा अध्यक्ष जनकराज भण्डारीले बताँउनुभयो । शालिक र स्मृति पार्कंसंगै ठुलासैनमा पर्यटन विकासका लागि सेल्फी डाँडा, भ्यू टावर र अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरिने मंगलसेन नगरपालिकाले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग संगै जोडिएको ठुलासैनलाई पर्यटनका हिसावले विकसित बनाई मंगलसेन आउँने हरेक मान्छेलाई एकपल्ट ठुलासैन पुग्ने माहोल बनाउनका लागि पनि पर्यटन संरचना आवस्यक रहेको बताईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!