मोरङमा स्वास्थ्यचौकी भवन उद्घाटन

Posted on: 11 Aug, 2018

साउन २६, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे–२ छयालिस विघेमा निर्मित स्वास्थ्यचौकी भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । 

रू एक करोड १२ लाखको लागतमा निर्मित १८ कोठे दुई तले सो भवन १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोलाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । साथै नगरकै पहिलो प्रसूति केन्द्र पनि उद्घाटन गरिएको थियो । 

उक्त स्वास्थ्यचौकीमा सरकारी दरबन्दीमा आठ स्वास्थ्यकर्मी र नगरको स्रोतबाट चार प्रसूति सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र अन्य चार कार्यालय सहयोगीसमेत रहने भएका छन् । स्वास्थ्यचौकी हुँदै अस्पताल निर्माणको योजना अघि बढाइएको सो क्षेत्रमा नगरपालिकाले नमूना शहरको अवधारणा अघि सारेर केही काम थालिसकेको छ । 

स्वास्थ्य चौकीका लागि करिव रु चार करोड बराबरकोे साढे १२ कट्ठा जग्गा दान गर्ने बाबुराम राई, सुनाहाङ सवेन्हाङ, नारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहाल, होमबहादुर गुरुङ, रामबहादुर गुरुङ, यक्षप्रसाद ढङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापालाई सम्मान गरिएको थियो । यसैगरी उक्त भवन निर्माणमा उल्लेखनीय योगदान पु¥याउनुहुने जिल्लाका पूर्व जनस्वास्थ्य अधिकृत डा. नवराज सुब्बा, हसन्दह निवासी सन्तोष घिमिरे र पथरी गाविसका पूर्व सचिव मोहन भट्टराईलाई पनि सम्मान गरिएको थियो । 

आगामी दुई वर्षभित्र ५० श्ययाको पथरी प्राथमिक अस्पतालको समेत निर्माणको पहल भइरहेको र यसका लागि केही दाताले जग्गादान गर्ने वचन दिएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो । यसअघि सो चौकी १ नम्बर वडाको पथरी बजारमा थियो । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!