महोत्तरीका मुसहर समुदायमा सामाजिक चेतना बढ्दै

Posted on: 11 Aug, 2018

साउन २६, बर्दिवास | महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन् । 

आफ्नो मालिकले अह्राएको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहर अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा चासो राख्न थालेका हुन् । 

शिक्षा, स्वास्थ्य र विभिन्न अवसरबाट पछि परेका यो बस्तीका मुसहर नेपाल रेडक्रश सोसाइटी महोत्तरी शाखाको सहयोगले नानीहरुलाई पढाउन थालेका छन् । चेतनामा अत्यन्तपछि परेका यहाँका मुसहर अब धमाधम चर्पी बनाउन थालेका छन् । 

‘बिहान कमाएर (बनी गरेर) ल्यायो, बेलुका भुटेर खायो’ आहानमा उभ्याइने मुसहर अतिरिक्त कमाउने, सञ्चय गर्ने, आफ्नो अधिकार खोज्ने वा कुनै गुनासो गर्ने कुरामा पुरै बेखबर रहने जातिका रुपमा परिचित छन् । खेती मजदूरी (कृषि मजदूरी) गुजाराको मुख्य पेशा रहेको यो जाति अब नियमित राजनीतिक प्रशिक्षण, सामाजिक सङ्घ संस्थाको लगातारको प्रयत्न र चासोले सार्वजनिक मञ्चमा देखिन थालेका लोहारपट्टी नै घर भएका प्रदेशसभा सदस्य जानकीशरण साह बताउनुहुन्छ । 

पछिल्लो चरणमा रेडक्रश महोत्तरी शाखाले यो बस्तीमा नियमित नेतृत्व विकास, जीविकोपार्जन र खानेपानी एवं सरसफाइका लागि विशेष तालीम नै सञ्चालन गरेको छ । गत वर्षको बर्खे भेलले बस्ने र खाने ठाउँ गुमाएका मुसहरका १२६ जना नानीहरुलाई रेडक्रश महोत्तरी शाखाले शैक्षिक सामग्रीसहितका झोला दिएको छ । मुसहर बालबालिका काखीमा कापी, कलमसहितको झोला भिर्न पाएपछि दङ्ग पर्दै नियमित बिद्यालय जान थालेका छन् । 

कृषि कार्यको मजदूरी गर्ने मुख्य व्यवसायका मुसहरलाई रेडक्रशले आयआर्जनका सानातिना काम सञ्चालन गर्न १८० परिवारलाई रु १५ हजार रकम सहयोग गरेको छ । यो रकमबाट मुसहर महिलाले काँसका डाली बुन्ने, सानो किराना पसल चलाउने र केही युवाले चनाचटपटे बनाएर बेच्ने गरेका र केहीले बाख्रापालन गर्न थालेका छन् । यो सहयोग सानो भए पनि मुसहरलाई वैकल्पिक रोजगारी खोज्न भने सहयोगी बनेको छ । रेडक्रशको सहयोगले अब भने हामी पनि यसै समाजका रहेछौँ भन्ने लाग्न थालेको लोहारपट्टीकै मुसहर समुदायका अगुवा शिव सादाले बताउनुभयो । 

जिल्लामा ३३ हजारको हाराहारी जनसङ्ख्या रहेको मुसहर समुदाय शिक्षामा निकै पछि परेको छ । यो समुदायबाट अहिलेसम्म एससीइई उत्तीर्ण गरेकाको सङ्ख्या १५ ननाघेको शिक्षा विकास समन्वय एकाइ महोत्तरीले जनाएको छ । तर सामाजिक सङ्घ संस्था, राजनीतिक दल, स्थानीय तह र अन्य सम्बद्ध तह निकायले थालेका निरन्तरको प्रयत्नले यसपालि भने मुसहर समुदायका झण्डै दुई हजार बालबालिका विद्यालय भर्ना भएका एकाइ प्रमुख सत्रुधन यादवको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!