तिलोत्तमा नगरपालिकामा वृक्षरोपण अभियान शुरु

Posted on: 12 Aug, 2018

साउन २७, बुटवल (रासस) | रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह शुरु भएको छ । ‘ग्रिन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने गरी हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह आयोजना गरेको हो । 

तिलोत्तमा–४ स्थित प्रस्तावित बालउद्यान क्षेत्रमा शनिबार आयोजित एक कार्यक्रमबीच बिरुवा रोपी नगरप्रमुख बासुदेव घिमिरेले सो वृक्षरोपण सप्ताह शुभारम्भ गर्नुभयो । 

सप्ताहअन्तर्गत नगरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका ५० हजार बिरुवा रोपिने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । विभिन्न सङ्घ–संस्था, क्लब, टोल विकास संस्थालगायत समग्र नगरवासीसँगको सहकार्यमा वृक्षरोपण हुने नगरपालिकाले जनाएको छ । जिल्ला वन कार्यालय तथा सामुदायिक वनमार्फत प्राप्त वनस्पतिका ३० हजार तथा नगरपालिकाले खरिद गरेका फलफूलका २० हजार बिरुवा रोपिने कार्यक्रम रहेको नगरप्रमुख घिमिरेले बताउनुभयो । 

नगर उपप्रमुख जागेश्वरी चौधरीले वडा कार्यालयमा सम्पर्क राखी आ–आफ्नो घर–आँगन, खाली जमीन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्न नगरवासीलाई आह्वान गर्नुभयो । 

वृक्षरोपण सप्ताहका संयोजक दानबहादुर चौधरीले रोपिएका बिरुवालाई हुर्काइ त्यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो । सप्ताहअन्र्तगत आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाइनो, खयरलगायत विभिन्न प्रजातिका बिरुवा रोपिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!