१६ उद्योगलाई सामान उत्पादन तथा बिक्री वितरणमा रोक

Posted on: 14 Aug, 2018

साउन २९, काठमाडौँ | नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । 

आर्थिक वर्ष २०७४÷७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३÷७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताउनुभयो । बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन् । विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ । आव २०७३÷७४ मा ७३ उद्योगलाई विभागले स्पष्टीकरण सोधेको थियो । विभागले नेपाल गुणस्तर चिन्ह दुरुपयोग गर्ने एक उद्योगको मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । आव २०७४÷७५ मा इजाजतपत्र प्रमाणिकरणका लागि ७० उद्योगले आवेदन दिएका थिए । आवेदन दिनेमा ४६ ग्यास उद्योग, सात विदेशी र १७ नेपाली उद्योग रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!