हत्याका आरोपी राजपाका नेता पाण्डे र नगरप्रमुख मिश्र अदालतमा हाजिर

Posted on: 14 Aug, 2018

साउन २९, गौशाला | सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहनुभएका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर हुनुभएको छ । 

उहाँसँगै सोही मुद्दाका आरोपी रहनुभएका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आज अदालतमा हाजिर हुनुभयो । उहाँहरु दुवैजना आफैँ निवेदन लिएर अदालतमा बिहान १०:३० बजे हाजिर हुनुभएको स्रेस्तेदार रामानन्द अधिकारीले बताउनुभयो । 

महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए । 

उहाँहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर हाजिर हुनुभएको हो । आफैँ हाजिर हुनुभएका प्रमुख मिश्र र सहमहामन्त्री पाण्डेलाई अदालतले आजै थुनछेकको बहस चलाउने भएको उहाँहरुको वकिल रमेश पाण्डेले बताउनुभयो । 

यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहनुभएका प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर हुनुभएको थियो भने उहाँलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो | रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!