भक्तजनले चढाएका सामग्रीले जलेश्वर पोखरीका माछा मरे

Posted on: 14 Aug, 2018

साउन २९, भद्रपुर | पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् । 

जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले चढाएको फूलपाती, दूधलगायतका सामग्रीको कारण माछा मरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । पोखरीका एक हजार बढी माछामा आधा मरेको उहाँको भनाइ छ । मरेको माछा पोखरीबाट निकाल्ने काम भइरहेको छ ।। 

पोखरीमा नैनी, नदियारी, मागुर, रहुँलगायत विभिन्न प्रजातिका माछा रहेका छन् । भक्तजनले चढाएका सामग्री विषाक्त भई माछा मरेको हुनसक्ने अध्यक्ष गट्टानीको भनाइ छ । मरेको माछालाई खाल्डो खनेर पुरिने छ । पोखरी चार फिट गहिरो छ । महाभारतकालीन इतिहास बोकेको पोखरी अर्जुनले बाण हानी पानी निकालेर गाईलाई खुवाएको किंबदन्ती छ । सो पोखरीको बीचमा गाईलाई पानी खुवाइरहेको अर्जुनको मूर्ति छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!