उदयपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

Posted on: 15 Aug, 2018

साउन ३०, उदयपुर | उदयपुर जिल्लाको बेलका नगरपालिका–३ स्थित खैरेनी टाप्पुमा आज बिहान आएको तीनवटा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने दुई घरटहरा भत्काएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात्तीको आक्रमणबाट खैरेनी टाप्पुका ३५ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको छ भने सार्कीको घर, गोठ र टहरासमेत भत्काएको छ । कोशीटप्पु क्षेत्रबाट आएका हात्तीले घरमा सुतिरहेका सार्कीलाई घर भत्काएर तानेर ५० मिटर पर लगी खुट्टाले च्यापेर मारेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । 

हात्तीले आक्रमण गरेर घर तथा टहरा भत्काएपछि घरका अन्य परिवारहरु भाग्न सफल भएका थिए । रामकुमार शारीरिक रुपले अशक्त भएकाले भाग्न नसक्दा हात्तीले पक्रेर केही पर लगेर मारेको थियो । 

सार्कीको घर तथा गोठ र टहरासमेत पूर्णरुपमा क्षति भएको छ । घटना घटेलगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली पुगी हात्ती भगाएको र अहिले जनजीवन सामान्य रहेको पनि एसपी राईले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!