कञ्चनपुरबाट अठहत्तर महिला हराए

Posted on: 18 Aug, 2018

भदौ २, कञ्चनपुर | कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४÷७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् । 

बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । 

हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “अझै ५४ जना महिला फेला पर्न सकेका छैनन् ।” सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन् । 

अर्कैसँग भागी विवाह गर्ने तथा रोजगारीको प्रलोभनमा परेर हराउने गरेको पाइएको छ । हराएका महिला बेचबिखनमा परेको भने पाइएको छैन प्रहरी निरीक्षक अवस्थीले भन्नुभयो, “बीस वर्षदेखि ४० वर्ष उमेरका महिला बढी हराएका छन् ।” हराउनेमा ५० वर्षसम्मका महिला पनि रहेको उहाँको भनाइ छ । 

सोही अवधिमा तीनवटै नगरपालिका क्षेत्रका ११ जना बालबालिका हराएकामा जसमध्ये नौ जना फेला परेका छन् । दुई जना अझै फेला परेका छैनन् । हराउने बालबालिका १४ वर्षदेखि २० वर्ष उमेर समूहका बढी रहेका छन् । हराएका महिला र बालबालिका परिवारको सम्पर्कमा पुगे पनि प्रहरीलाई खबर नगर्दा सङ्ख्य धेरै देखिएको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!