प्रधानमन्त्री कार्यालय ‘र्‍यापिड अपरेसन’मा

Posted on: 20 Aug, 2018

भदौ ४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगति/उपलब्धिबारे अनुगमन गर्ने भएको छ । 

प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्‍यापिड अपरेसन’ भनेको छ ।

महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए ।

मन्त्रालयहरूका साथै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका अन्य निकायको सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ । ‘अबदेखि हरेक दुई–दुई महिनामा अनुगमन गरिनेछ,’ उनले भने ।

सेवाग्राहीको बाक्लो उपस्थिति हुने मन्त्रालय र निकायका हकमा भने नियमित रूपमा प्रत्यक्ष/अप्रत्यक्ष ढंगले अनुगमन हुने गरेको छ ।

त्यस्ता निकायमा प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र र अन्य निकायमार्फत नियमितजसो अनुगमन हुने गरेको सचिव अधिकारीले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!