सुनसरीमा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै

Posted on: 20 Aug, 2018

भदौ ४, इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ । 

जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस गरेका छन् । गाउँपालिका क्षेत्रभित्र एकै पटक सात वटा कालोपत्रे सडक बन्ने भएपछि खुशी लागेको स्थानीय नइम अन्सारीले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा घुस्की देवानगञ्ज सडक करीब तीन किलोमिटर, वसन्तपुरदेखि घुस्की सीमासम्म करीब छ किलोमिटर बाटो कालोपत्रे हुने भएको गाउँपालिकाले जानकारी दिएको छ । 

त्यस्तै घुस्की अर्नमा जोड्ने करीब तीन किलोमिटर सडक कालोपत्रे हुने र हरिनगर वसन्तपुर करीब तीन किलोमिटर सडक पनि कालोपत्रे गरिने बताइएको छ । 

वसन्तपुर बेस क्याम्प करीब पाँच किलोमिटर सडक , भुटाहा– बसमतिया चार किलोमिटर सडक र हरिनगर गौतमपुर नयाँ हाटसम्म करीब साढे चार किलोमिटर सडकको कालोपत्रे हुने भएको अध्यक्ष अन्सारीले बताउनुभयो । 

सडक निर्माणका लागि टेण्डर आह्वान गरेर विभिन्न निर्माण कम्पनीलाई जिम्मा दिइसकेको अध्यक्ष अन्सारीको भनाइ छ । जनप्रतिनिधि आएपछि एकै पटक सात वटा ठूला तथा साना सडक कालोपत्रे हुने भएको हो । सडक अभावका कारण वर्षाको समयमा हिलाम्ये र गर्मीको बेला धुलाम्य सडकमा आवतजावत गरिरहेका स्थानीय सडक बनेपछि सो समस्याबाट मुक्ति हुने स्थानीय चन्दन मेहताको भनाइ छ । 

कोशी टप्पुमा चालीसलाख भन्दा बढी राजश्व सङ्कलन 

यसैगरी अर्ना र पर्यटकका लागि प्रशिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय सुनसरीले एक वर्षमा रु ४० लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । 

आर्थिक वर्ष २०७४÷०७५ मा आरक्षले ४० लाख ११ हजार २६५ रुपैयाँ २५ पैसा राजश्व सङ्कलन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षले खरखर्डा, पर्यटक, दण्ड जरिवानालगायतबाट सो परिणाममा राजश्व सङ्कलन गरेको हो । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!