महोत्तरीमा विषालु सर्पको बिगबिगी बढ्दै

Posted on: 22 Aug, 2018

भदौ ६, बर्दिवास | महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा विषालु सर्पको बिगबिगी निकै बढेको छ । 

जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नैसर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेको र पाँच जना अझै उपचारकै क्रममा छन् । यसअघि गत साउन मसान्तसम्म केन्द्रमा एक हजार ७१ ले उपचार लिएको अभिलेखले देखाएको छ । 

विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको केन्द्रमा आर्थिक वर्ष २०७४÷०७५ सम्म सर्पदंशका एक हजार चार बिरामीले उपचार पाएका थिए । तीमध्ये आर्थिक वर्ष २०७१÷०७२ मा १६५, आव २०७२÷०७३ मा २७०, आव २०७३÷०७४ मा २७३ र आव २०७४÷०७५ मा २९६ जनाले उपचार लिएको अभिलेखलाई उद्धृत गर्दै सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनमा ६७ जनाले उपचार लिएको तथ्याङ्क छ । जिल्लामा धेरैजसो गोमन र करेत जातका विषालु सर्पको बिगबिगी देखिएको केन्द्रले जनाएको छ । 

जिल्लाका बर्दिवास, गौशाला, औरही, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ देखिएका छन् । केन्द्र सञ्चालनमा आएदेखि गत साउन मसान्तसम्मको तथ्याङ्क हेर्दा बर्दिवास नगर क्षेत्रमा मात्रै सर्पदंशका ४७० घटना भएको देखिन्छ । त्यसैगरी गौशाला–१८७, औरही–१२९, भङ्गाहा–२६ र रामगोपालपुरका २४ जनाले केन्द्रबाट सफल उपचार पाएको अध्यक्ष देवकोटा बताउहुन्छ । महोत्तरीबाहेक अन्य छिमेकी जिल्लाबाट सर्पदंशको उपचार लिनेमा सिन्धुलीका १६७, धनुषाका ६६, सर्लाहीका आठ, रामेछापका तीन र सुनसरीका एक जना देखिएका छन् । 

सामाजिक पहलकदमीमा स्थापित र सञ्चालित केन्द्रमा नेपाली सेनाले उपचारमा संलग्न हुने दक्ष छ प्राविधिक उपलब्ध गराउँदै आएको छ । बितेका चार वर्षमा सर्पदंशका ३१ बिरामीलाई मात्र थप उपचारका लागि अन्यत्र सिफारिस गरिएबाहेक सबै उपचार पाएर घर फर्केको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

उपचार केन्द्रमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष नहुँदा ढिलो उपचारमा आइपुग्ने केही बिरामीलाई अन्यत्र उपचारका लागि सिफारिस गरिँदा केही अप्रिय घटना भएको अध्यक्ष देवकोटाको भनाइ छ । केन्द्र र बर्दिवास अस्पतालको समन्वयमा अत्यावश्यक भेन्टिलेटर र अन्य उपचार उपकरणसहितको सघन उपचार कक्ष सञ्चालनको आवश्यकता सार्वजनिक रुपमा औंल्याइँदै आएको छ । सो व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण कैयौं पटक गराइए पनि हालसम्म उपलब्ध भने हुन नसकेको अध्यक्ष देवकोटाले बताउनुभयो । सो भेगका सर्वसाधारणले उपचार केन्द्रको स्तरोन्नतिका लागि सरकारी पहलकदमी बढ्नुपर्ने बताएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!