तालीमबाट दाङका महिलाको क्षमता र ज्याला वृद्धि

Posted on: 22 Aug, 2018

नारायणी रजौरे | भदौ ६, दाङ | पुरुषसरह काम गर्दा पनि समान ज्याला पाउनबाट वञ्चित मनचली चौधरीलाई अब भने त्यस्तो समस्या नपर्ने भएको छ । 

बिहानै उठी दिनभर काममा घोटिँदा पनि उहाँको ज्याला उहाँसँगै काम गर्ने पुरुषसरह हुँदैनथ्यो तर अब भने समान ज्याला पाउने भएपछि उहाँ निकै खुशी हुनुहुन्छ । 

लामो समयसम्म स्थानीय भूपेन्द्र चौधरीसँग लेबर काम गर्दै आएको र दुई वर्ष पहिले सीप विकास तालीम केन्द्र तुलसीपुरले महिलालाई लक्षित गरी आयोजना गरेको डकर्मी तालीममा सहभागी भएपछि पुनःभूपेन्द्रकै सहयोगमा घरको गारो लगाउने काम गर्नसक्ने भएपछि पुरुषसरह उहाँले समान ज्याला पाउन थाल्नुभएको हो । “बिहानदेखि साँझसम्म दिनभर काममै लाग्दा पनि पुरुषसरह ज्याला नदिएर हामीलाई काम गर्न लगाइन्थ्यो”, विगतका दिनको स्मरण गर्दै उहाँले भन्नुभयो । 

तुलसीपुर नगरपालिका–६ निवासी मनचलीको पुरुषसरह ज्याला पाउने चाहना धेरै वर्षपछि मात्र पूरा भयो । 

मिस्त्री काम सिकेपछि पारिश्रमिक राम्रो हुने र घरपरिवारको खर्च टार्न पनि सजिलो हुने भन्दै उहाँ दुई वर्षअघि तालीममा सक्रियरुपमा सहभागी हुनुभयो । लेबर काम गर्दा दैनिक रु ३५० पाउने गरेको उहाँले अहिले पुरुषसरह घरको गारोे लगाउने काम गर्न थालेपछि दैनिक रु एक हजार पाउने गरेको बताउनुभयो । 

आर्थिक अवस्था कमजोर भएकै कारण आफूले जीवनमा धेरै दुःख भोगिसकेकाले अब आउँदा दिनमा त्यस्तो नहोस् भन्नका लागि आफू आत्मनिर्भर बन्नेतर्फ लागेको उहाँको भनाइ छ । 

अहिले मनचली मात्र होइन उहाँसँगै तुलसीपुर नगरपालिका–५ की शान्ता चौधरी, दङ्गीशरण गाउँपालिका–३ स्थायी घरभई हाल तुलसीपुर उपमहानगरपालिका–६ मा डेरा गरेर बस्दै आउनुभएकी सीता चौधरीले पनि घर गारोे लगाउने काम गरिरहनुभएको छ । 

उहाँहरुले टरिगाउँमा रहेको एक निजी घरमा पर्खाल लगाइरहनुभएको छ । 

एक वर्ष अगाडिदेखि उक्त काम सिक्दै गरेका ती महिलाले अब भने पुरुषसरह नै काम गरेबापत ज्याला पाउन सक्ने भयाँै भन्दै खुशी भएका छन् । 

विगतका दिनमा आफूहरुले पुरुषसँगै दिनभर लेबर भएर काम गर्दथ्यौँ तर ज्याला पाउँदा उनीहरुले रु ५५० प्रतिदिनको ज्याला पाउँथे आफूहरुले भने रु ३०० मात्र । त्यसले मन खिन्न हुन्थ्यो तै पनि केही नबोलेर ज्याला लिने गर्दथ्याँै, शान्ताले विगतलाई स्मरण गर्दै बताउनुभयो । उहाँले भन्नुभयो, “अनि मनमनै सोच्ने गर्दथँे अब त गारो लगाउने काम जसरी भए पनि सिक्छु ।” 

दुई वर्षअघि सीप विकास तालीम केन्द्र तुलसीपुरले महिलाको लागि लक्षित गरी सञ्चालन गरेको डकर्मी तालीममा सहभागी हुने अवसर पाएर तालीम सकिएलगत्तै घर बनाउनका लागि गारो एवं पर्खाल लगाउने कामको शुरु गरेँ । अहिले त पुरुषसरह काम गर्छु ज्याला पनि उनीहरुसरह नै पाउने गरेकी छु उहाँले भन्नुभयो । 

यसैबीच आव २०७३÷०७४ मा सीप विकास तालीम केन्द्र तुलसीपुरले दाङ र सल्यान जिल्लाका दुईवटा ठाउँमा ६० जना महिलालाई डकर्मी तालीम दिएको जनाएको छ । 

केन्द्रका प्रमुख सुदर्शन अधिकारीका अनुसार सो काम गर्न इच्छुक महिलालाई दाङ र सल्यानमा दुई चरणमा तालीम प्रदान गरिएको थियो । 

अहिले करीब एक दर्जन महिलाले आफ्नो, दक्षता, सीप तथा क्षमता देखाउन सफल हुनुभएको छ अधिकारीले भन्नुभयो । गत वर्षदेखि सो तालीम कार्यालयले सञ्चालन नगरेको भए तापनि यसपटक भने कसैको माग आएमा भने सञ्चालन गरिने केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!