महोत्तरीबाट २ वटा चोरीको गाडीसहित सामान नियन्त्रणमा

Posted on: 23 Aug, 2018

भदौ ७, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना४च ४३३२ र ना४च ४८९४ नम्बरको दुई पिकअप भ्यान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले पर्सापतैली–५ बाट नियन्त्रणमा लिएको हो । 

प्रहरीको गस्ती टोलीले चोरीको दुई पिकअपमा ३६ बोरा ५० किलोको दरले प्याज समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । यसरी प्रहरीले बरामद गरेको दुई चोरीका पिकअप र भन्सार छली ल्याएको ३६ बोरा प्याज गरी रु १० लाख १८ हजार मूल्य बराबरको सबै सामान आवश्यक कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!