ज्यान मारेको अभियोगमा फरार ब्यक्ति १३ वर्षपछि पक्राउ

Posted on: 23 Aug, 2018

चिसाङ शेर्पा | भदौ ७, खोटाङ | ज्यान मारेको अभियोगमा पक्राउ परी फरार रहेका प्रतिवादी बिर बहादुर तामाङ पुनः पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तामाङलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

२०६० साल असोज १५ गते साविक खार्मी गाविस वडा नं. ४ का २१ वर्षीय नवराज दाहाललाई कुटपिट गरी ज्यान मारेको अभियोगमा पक्राउ परी तत्काल जिल्ला अदालत खोटाङले पुर्पक्षको लागि जिल्ला कारागार चलान गराएकोमा २०६२ साल असार ५ गते कारागार आक्रमण हुंदा फरार रहेका ३६ वर्षीय तामाङलाई बिहीबार निजको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत खोटाङले २०६३ साल फागुन ६ गते २० बर्ष कैद सजाय हुने फैसला सुनाएकोे थियो । डेढ वर्ष कैद भुक्तान गरि फरार रहेका निज तामाङले अब १८ बर्ष ३ महिना २० दिन कैद सजाय भुक्तान गर्न बाँकी छ । उनलाई आजै फैसला कार्यान्वयनको लागी कारागार पठाईएको छ ।

कुटपिट गरी दाहालको हत्यामा संलग्न पक्राउ परी थुनामा रहेका तीनजना कारागार आक्रमण हुंदा फरार रहेका थिए । तीन मध्ये यसअघि एकजना र तामाङ सहित दुईजना पक्राउ परेका हुन् । थप एकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!