तराईका लामखुट्टे हिमालमा पुगे !

Posted on: 24 Aug, 2018

भदौ ८, पोखरा | उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । 

तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चाहीँ करीब एक दशक पुग्न लाग्यो । 

हिमालपारिको जिल्ला मुस्ताङको घरबजोङ गाउँपालिका वडा नं ५ ठिनीका ६५ वर्षीय पल्डिसी थकाली विगतमा लामखुट्टेको नाम समेत नसुनेका यहाँका स्थानीयवासी यतिखेर भने झुल प्रयोग गर्न बाध्य बनेको बताउनुहुन्छ । 

पृथ्वीमा वर्षेनी तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा ठूलो प्रभाव पारिरहेको उहाँ बताउनुहुन्छ । 

एक दशक अघिसम्म हिउँ मात्र पर्ने ठिनीमा जलवायु परिवर्तनको असरसँगै पानी पर्न थालेपछि परम्परागत तवरले निर्माण गरिएका माटाका संरचनाहरु जोखिममा पर्दैगएका छन् । माटाले छाइएका घरहरू पानी पर्न थालेपछि पग्लने र भत्कने क्रम बढ्दा जस्ताले छाउन बाध्य हुनुपरेको स्थानीयवासी बताउँछन् । 

पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढी पहिरोको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रभावित भएको छ । गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर ठिनीमै फल्ने गरेको थकालीले जानकारी दिनुभयो । 

तापक्रम वृद्धिले चाँदी जस्तै टलक्क टल्कने हिमालहरू वर्षेनी काला पत्थरमा परिणत भइरहेका छन् । उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि त्यहाँका वस्तीमा खानेपानीको अभाव चर्किएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई चार वर्ष अघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिनु यसको ज्वलन्त उदाहरण हो । 

हिउँ पर्न कम हुनाका साथै हिउँ पर्ने ठाउँमा पानी पर्न थालेपछि मुस्ताङ जिल्लाका वस्तीहरू जोखिममा पर्दै गएको थसाङ गाउँपालिका वडा नं ३ लेतेका ६५ वर्षीय नरसिंह शेरचन बताउनुहुन्छ । 

“जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउले आफ्नो ठाउँ छोडेर विस्तारै उपल्लो भागतिर सर्दै गएको छ” – उहाँले भन्नुभयो । स्याउको राम्रो उत्पादन हुने लेतेमा १० वर्ष यता स्याउ फल्नै छोडे पछि उत्पादन तथा बिक्री गरी आयआर्जन गर्दैआएका लेतेवासीलाई स्याउको विकल्प खोज्नुपर्ने अवस्था आएको छ । 

हिमाल पग्लने क्रमसँगै नयाँ नयाँ हिमताल बन्ने क्रम बढिरहेको छ भने बेमौसममा आउने बाढीका कारण धेरै वस्ती जोखिममा पर्ने गरेका छन् । 

पछिल्ला वर्षमा विश्वव्यापी रुपमा बढेको जलवायु परिवर्तनको असर नेपालमा पनि देखिने गरेको वरिष्ठ मौसमविद् विभूति पोखरेल बताउनुहुन्छ । पानी पर्दा एकसाथ ठूलो पर्ने, लामो समयसम्म नपर्ने जस्ता कारण पानीका मुहान सुक्दै जाने, खेतहरू बाँझिने क्रम बढेको छ । 

अध्ययनले देखाए अनुसार पछिल्ला वर्षमा पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । 

प्राकृतिक एवं मानवीय दुबै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् । यसले पार्ने दीर्घकालीन प्रभावलाई न्यून गर्न सचेतता अपनाउन हतार भइसकेको सरोकारवाला बताउँछन् । 

जलवायु परिवर्तनसँगै हिउँ पग्लने तथा हिमताल फुट्ने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ । 

केही वर्ष अघि पोखरा भएर बग्ने सेती नदीमा अपत्यारिलो तवरले हिउँदमा बाढी आएर करीब दुई दर्जन सर्वसाधारणको ज्यान गयो । बाढीको कारण यकिन नभए पनि अनुसन्धानका क्रममा हिमताल फुटेकै कारण हुन सक्ने अनुमान गरिएको छ । 

पछिल्ला वर्षमा अन्नपूर्ण हिमालको हिउँ पग्लेर कास्कीको सिक्लेस गाउँ माथि नयाँ हिमताल अस्तित्वमा आयो । यो जलवायु परिवर्तनको अर्को उदाहरण हो । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको छ र उक्त ताललाई स्थानीय बासिन्दाले ‘कफुचे’ नामकरण गरिदिएका छन् । नेपालमा चार हजार ५०० मिटरमाथि मात्रै हिमताल भेटिएका भए पनि यो ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइमा विकसित भएको छ । 

पछिल्ला अध्ययनहरुसँगै जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै नदीहरू हिमालमाथि उक्लिरहेको तथ्य बाहिर आएका छन् । 

नेपालमा मात्र दुई हजार तीन सय २३ वटा हिमताल रहेका छन् । यसमध्ये महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउँ पग्लदै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । अहिले विश्वभर मानिसले पिउने ७० प्रतिशत पानी हिमखण्डबाटै प्राप्त हुने गरेको सन्दर्भमा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ । 

जलवायु परिवर्तनले कृषिजन्य उत्पादनमा पनि असर गरेको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीले बताउनुभयो । कास्की र आसपासका जिल्लामा धानखेतीमा यसले प्रत्यक्ष असर पारेको देखिएको छ । बस्ताकोटीका अनुसार मौसम फेरबदलका कारण कृषकले उचित समयमा धान रोप्न नसक्दा त्यसले उत्पादनमा ह्रास ल्याइदिएको हो । तापक्रमको फेरबदलसँगै बालीनालीमा फौजी कीराको प्रकोप पनि वर्षेनी बढ्दै गएको छ । 

अघिल्ला वर्षमा खडेरीका कारण मकै तथा कोदोको उत्पादन कम भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!