आफ्नै ठाउँमा सेवा नपाउँदा सास्ती

Posted on: 24 Aug, 2018

सिद्धराज भट्ट | भदौ ८, धनगढी | कैलालीको मोहन्याल गाउँपालिका–२ को घोडालङ्गे आधारभूत विद्यालयका शिक्षक घनश्याम न्युरेलाई गाउँपालिका कार्यालयबाट सिफारिश लिने कामका लागि धनगढी पुग्नुपर्यो । गाउँपालिका कार्यालय रहेको स्थान धनगढी पुग्नुपर्ने भएपछि उहाँलाई सिफारिश बनाउने काममा धेरै दिनको समय पनि लाग्यो । 

गाउँपालिकाको कार्यालय शुरुदेखि नै धनगढीको एक निजी घर भाडामा लिई सञ्चालन रहेको छ । “विद्यालयको शिक्षक दरबन्दी पूर्ति गर्ने प्रक्रिया अघि बढाउन गाउँपालिकाको सिफारिश चाहिने भएपछि धनगढीमा सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालयमा पुग्नु पर्यो, न्यूरेले भन्नुभयो, “मोहन्यालमा नै कार्यालय भएको भए काम छिट्टै र सहज बन्थ्यो ।” 

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिए पनि अझै यो भनाइ व्यवहारमा देखिन नसक्दा गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढ्न थालेको छ । “सबै नेता अब सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो भन्थे, आफूले समान्य कामका लागि पनि धनगढी आउनुपर्ने बाध्यता अझै हटेको छैन”, अर्का सेवाग्राहीले भन्नुभयो । 

नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन् । पहिलेको तुलनामा स्थानीय तह अधिकार सम्पन्न भए पनि निर्वाचित प्रतिनिधिबाट आफ्नै क्षेत्रमा कार्यालय स्थापना गर्नमा भइरहेको कमी कमजोरीका कारण गाउँमा नै सेवा पाउन नसकिएको गुनासो सेवाग्राहीको छ । गाउँपालिकाका अध्यक्ष नवलसिं रावल भौगोलिक विकटताले बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवा सुविधा पुग्न नसकेका कारण मोहन्याल गाउँपालिका क्षेत्रमा नै कार्यालय सञ्चालन गर्न नसकेको बाध्यता सुनाउनुहुन्छ । 

यो वर्षभित्र मोहन्याल गाउँपालिकाको फल्लेबिसौना गाउँमा कार्यालय सञ्चालन गर्नेगरी पूर्वाधार जुटाउने काममा लागेको रावलले जानकारी दिनुभयो । उक्त गाउँपालिकाको कार्यालय धनगढीमा सञ्चालन भइरहँदा वडा कार्यालय तराई क्षेत्रको घोडाघोडी नगरपालिकाको सुखड बजारमा सञ्चालनमा छन् । दुई वटा वडा कार्यालय मात्र सम्बन्धित वडामा सञ्चालनमा छन् । 

गाउँपालिकाको कार्यालय धनगढीमा सञ्चालन रहे पनि गाउँपालिका कार्यालयले प्रयोग गरेको ‘लेटर प्याड’मा भने ‘मोहन्याल गाउँपालिका, गाउँपालिकाको कार्यालय, खिमडी, कैलाली’ उल्लेख छ । नयाँ संरचना गर्र्दा साविकको सुगरखाल, मोहन्याल र पण्डौन गाविसलाई मिलाएर मोहन्याल गापा बनाइएको हो । 

चुरे गाउँपालिका कार्यालयको स्थान चार पटक फेरियो । स्थानीय तहको निर्वाचन भएको एक वर्षभन्दा बढी भएको छ । तर कैलालीको पहाडी क्षेत्रको अर्को चुरे गाउँपालिकाको कार्यालय सञ्चालन गरिने स्थान भने पटकपटक फेरिनेक्रम नरोकिँदा सेवाग्राही र कार्यालयका कर्मचारीको हैरानी भएको छ । सेवाग्राहीले सेवा लिन टाढा पुग्नुपर्ने त दुःख छ नै, कहिले कतै त कहिले कतै कार्यालय सारिंदा कर्मचारीलाई पनि हैरानी भएको छ । 

स्थानीय तहको निर्वाचन भएपछिको यो अवधिमा चुरे गाउँपालकाको कार्यालय चारपटक विभिन्न ठाउँमा सारिएकामा अहिले पाँचौँ पटक चुरे गाउँपालिका क्षेत्रमा सार्ने तयारी भइरहेको छ । यो अवधिमा गाउँपालिकाको कार्यालय चुरे गाउँपालिका क्षेत्रमा पर्ने अलाड र सहजपुर, गोदावरी नगरपालिकामा पर्ने अत्तरिया तथा धनगढीमा गरी चार पटक स्थान परिवर्तन गरी सञ्चालन भएकामा हाल कार्यालय पुनः चुरे गाउँपालिका क्षेत्रमै लैजाने तयारी भइरहेको हो । 

गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर भौतिक पूर्वाधारको समस्या र सञ्चारको असुविधाजस्ता समस्याका कारण आफ्नै क्षेत्रमा गापाको कार्यालय सञ्चालन गर्न कठिनाइ भएको दाबी गर्नुहुन्छ । पहाडी क्षेत्रका साविकका सहजपुर, निगाली र खैराला गाविसलाई मिलाएर चुरे गाउँपालिका बनाइएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!