अनुकरणीय बन्दै माइला

Posted on: 25 Aug, 2018

भदौ ९, पोखरा | रोजगारीका लागि दैनिक ठूलो सङ्ख्यामा युवा विदेशिरहेको अहिलेको अवस्थामा यहाँका एक युवा भने सबैका लागि अनुकरणीय बन्नुभएको छ । 

पोखरा महानगरपालिका– ३३ सुतार्नेका माइला नामले परिचित ४० वर्षीय नीलबहादुर गुरुङ आफ्नो विदेश बसाइँका अनुभव समाल्दै व्यावसायिक भैँसी पालनमा जुट्नुभएको हो । रोजगारी खोज्दै जापानसम्म पुगेका उहाँलार्ई त्यहाँको परिवेशले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने पाठ सिकायो । 


“जापानमा त्यहीँका स्थानीयवासी पनि मेहनेतका साथ काम गर्दा रहेछन्, हाम्रोमा भने काम गर्नुपर्छ भन्ने भावना अझै विकास हुन सकेको छैन,”– उहाँले भन्नुभयो । विदेशमा गएर मरिमेटी काम गर्नसक्ने युवामा यहाँ भने काम नगर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । 

एसएलसी दिँदै गर्दा २०५३ सालतिर भारतीय सेनामा भर्ती खुलेपछि लाहुरे हुने इच्छा उहाँलाई पनि जाग्यो तर सफलता मिलेन । त्यसपछि उहाँले करीब ६ वर्ष काठमाडौँ – पोखरा चल्ने रात्रि बस किनेर सञ्चालन गर्नुभयो । 

२०६० पछि एकदशक जापानमा बिताएका उहाँलाई त्यहाँको बसाइँले स्वदेशमा नै केही गर्नुपर्छ, भन्ने प्रेरणा दिएको हो । पोखरा– ३३ बाघमारा इन्द्रचोकमा २० रोपनी जग्गा लिएर व्यावसायिक भैँसी पालनमा लागेका माइलाको परिवार नै यतिखेर स्वरोजगार त बनेको छ नै, त्यसमा पनि अन्य दुईजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दुई कर्मचारी आफूसहित श्रीमती सीता व्यावसायिक भैँसीपालनमा अहोरात्र खटेको र सबै खर्च कटाएर मासिक रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । 

शुरुमा रु २८ लाख लगानी गरेको माइलाको फर्ममा अहिले १३ वटा भैँसी तथा सातवटा पाडापाडी छन् । 

उहाँका अनुसार फर्ममा दैनिक सात भारी घाँस र दुईचरण कुँडो आवश्यक हुन्छ । फर्म सञ्चालन गर्नेलाई सरकारले ठाउँठाउँमा आर्थिक अनुदान दिने गरेको सुनिए पनि आफूले भने अहिलेसम्म त्यस्तो अनुदान प्राप्त नगरेको उहाँले बताउनुभयो । 

भैँसी पालनका लागि अत्यधिक पानी आवश्यक हुने भए पनि बाघमारामा पर्याप्त पानी नहुँदा पटक÷पटक समस्या भोग्नुपरेको उहाँको दुःखेसो छ । फर्ममा पशुसेवा केन्द्र, खुदीको सिफारिसमा यसअघि पशुसेवा कार्यालय पोखराबाट बाट प्राप्त मकैचरी घाँसको बीउ लगाएर भैँसीलाई खुवाइएको उहाँले जानकारी दिनुभयो । 

अहिले पनि फर्ममा केन्द्रबाट नेपियर, सियो चार जस्ता घाँसको बीउ ल्याएर लगाउन थालिएको छ । भैँसीले दूध दिने अवस्थासम्म दूधको व्यापार र त्यसपछि मासुको प्रयोजनमासमेत बिक्री हुने गरेका कारण पछिल्लो समयमा भैँसी पालनतर्फ निकै आकर्षण बढिरहेको छ । 

भैँसीको दूध प्रतिलिटर रु एक सय २० मा बिक्री हुने गरेको जानकारी दिँदै माइलाले बजारमा अत्यधिक मागका कारण त्यसअनुरुप दूध पु¥याउन धौधौ भएको अनुभव सुनाउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!