७७ प्रतिशत किशोरी छाउगोठमै

Posted on: 25 Aug, 2018

भदौ ९, सुर्खेत | कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । छाउपडी उन्मुलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्यांकअनुसार छुई अर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन् ।

कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छोड्ने गरेको एक्सनबक्र्स नेपाल संस्थाले अध्ययन गरी सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । छाउपडी सामाजिक कुसंस्कार हो भन्ने जान्दाजान्दै पनि विद्यालय उमेरकै ७७ प्रतिशत किशोरी छाउगोठमै बस्न बाध्य भएको संस्थाका कार्यक्रम संयोजक सोमराज जिसीले जानकारी दिए । उनका अनुसार अध्ययनले महिनावारी भएको समयमा घरभित्र बस्दा देउता रिसाउने डरले किशोरी अझै पनि छाउगोठमै बस्न बाध्य भएको तथ्यांक देखाउँछ । तथ्यांकअनुसार कक्षा ६ देखि १२ सम्मका समूहका महिलाले नै छाउगोठमा बस्ने गरेका हुन्। महिनावारी भएको समयमा ८५ प्रतिशत महिला दिदीबहिनीले दहीदूध खान पाएका छैनन् भने ९१ प्रतिशत महिलाले भान्सामा प्रवेश नपाएको अध्ययनले देखाएको जिसीले बताए। ५३ प्रतिशत महिलाले धार्मिक तथा सांस्कृतिक कारणले छाउबार्ने गरेका छन् ।

छाउपडी प्रथा उन्मुलनका लागि विभिन्न गैरसरकारी निकायले विभिन्न समयमा गरेको जनचेतनामूलक कार्यक्रमसमेत प्रभावकारी देखिएको छैन । कर्णालीका ६० प्रतिशत महिलालाई सरकारी नीतिनै थाहा नभएको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!