चौदशी मेलामा श्रद्धालुको भीड

Posted on: 25 Aug, 2018

भदौ ९, कालिकोट | पश्चिम नेपाल धार्मिक मठमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ । जनैपूर्णिमा अघिल्लो दिन चतुर्दशीमा लाग्ने ‘चौदशी’ मेलामा सहभागी हुन उनीहरू तीर्थस्थल पुगेका हुन् ।

पश्चिम नेपालको सबैभन्दा ठूलो देवीको मन्दिर बडिमालिका पुगेका कालिकोट सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले भने, ‘बिहानैदेखि यहाँका देवीको पूजा गर्नेको घुइँचो लागेको छ’ उनले भने,‘श्रावण शुक्ल चतुर्दशीका अवसर पारेर यहाँ ठूलो मेला लाग्छ ।’ कालिकोट र दैलेखको सिमानामा पर्ने महावुमा पनि पनि तीर्थालुहरुले बिहानैदेखि पूजाआजा शुरु भएको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए । मुगुको मुगमकार्मारोङ गाउँपालिकाको डोल्फुस्थित छायानाथ मन्दिरमा पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । 

जिल्लाका विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट पूजाआजा गर्ने धेरै रहेको मुगुका पत्रकार कविराज कार्कीले बताए । ‘मन्दिरमा एक सातासम्म धामीझाँक्रीसहित तीर्थालुको मेला लाग्छ’, उनले भने,‘यहाँ सतीदेवीको अंगपतन भएको विश्वास गरिन्छ ।’ त्यस्तै कालिकोट र अछामको सीमास्थित रूपादेवी मन्दिरमा पनि बिहानैदेखि तीर्थालुको घुइँचो लागेको अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का वडाध्यक्ष तारा संज्यालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!