पर्वतमा कृषि ज्ञानकेन्द्र स्थापना

Posted on: 27 Aug, 2018

भदौ ११, पर्वत | कृषकलाई सहयोग पुर्याउने उद्देश्यले पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको छ । 

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको पर्वत र बागलुङ जिल्ला कार्यक्षेत्र तोकिएको छ । 

पुरानो कृषि विकास कार्यालयमा नयाँ नामसहित स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले आइतबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । 

कृषि ज्ञान केन्द्रमा माटो परीक्षणलगायतका प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिने तयारी गरिएको छ । अहिले कृषिको बजेट स्थानीय तहमा गएपछि सोहीअनुसार प्राविधिक जनशक्ति जान नसक्दा आशाअनुरुप प्रतिफल नआएको कारण प्राविधिक सहयोग र कार्यक्रमसमेत सञ्चालन गरी कार्यालय स्थापना गरिएको प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयले गण्डकी प्रदेशभित्र छ वटा कृषि ज्ञान केन्द्र तथा सात वटा पशु अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरी कृषि र पशुसेवालाई कृषकका बीचमा सहज पहुँचको व्यबस्था गरेको मन्त्री लेखबहादुर थापाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!