प्रदेश ३ को ट्राफिक कार्यालय भरतपुरमा

Posted on: 28 Aug, 2018

भदौ १२, चितवन (रासस) | प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । 

भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो । 

“मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भन्नुभयो । उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो । 

कर्मचारी पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । विद्युत् प्राधिकरण कार्यालयका कार्यालय सहायक कृष्णबहादुर सुवेदीलाई भरतपुर महानगरपालिका–७ स्थित जीवन ज्योति मिनलरवाटर एण्ड बेबरेज प्रालिबाट रु २० हजार बुझ्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!