नहर बगाएपछि स्थानीयवासी अँध्यारोमा

Posted on: 28 Aug, 2018

भदौ १२, जाजरकोट | बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन्। 

बाढी पहिरोले आठ किलोवाटको सिलिपलाउन लघुजलविद्युत्, १५ किलोवाट सिलिपलाउन स्याँला धर्मशाला लघुजलविद्युत्, ४५ किलोवाटको बागमारे लघुजलविद्युत्, १५ किलोवाटको झुमराखोला लघुजलविद्युत्, १६ किलोवाट लहरेखोला लघुजलविद्युत् र १३ किलोवाट लहरे लघुजलविद्युत् आयोजनाको नहर र विद्युत् उत्पादनगृहमा क्षति पुर्याएपछि पूर्णरूपमा विद्युत् सेवा अवरुद्ध भएको हो । 

बाढीले कुलो, बाँधस्थल, विद्युत्गृहलगायत संरचनामा क्षति पुर्याएको छ। विद्युत् आपूर्ति बन्द हुँदा नलगाडको नगर उज्यालो कार्यक्रमसमेत प्रभावित भएको छ। बाढी पहिरोले छ लघुजलविद्युत्को नहर, विद्युत् गृह, बाँधस्थललगायतमा क्षति पुर्याएको छ। 

बाढीले सबै लघुजलविद्युत् आयोजनाको दुई सयदेखि तीन सय मिटर पक्की नहर बगाएको वडा नं ४ का अध्यक्ष प्रचण्ड ओलीले बताउनुभयो। विद्युत् आपूर्ति बन्द भएपछि नलगाड नगरपालिका २, ३, ४ र ५ वडाका चार हजार घरपरिवार विद्युत् सेवाबाट बञ्चित भएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । नलगाडअन्तर्गतका घुवारा, पीपलचौर, खन्टाकुरा, थाप्ला, कालिमाटी बजार, दल्लीलगायतका बासिन्दा विद्युत् उपभोगबाट वञ्चित भएका हुन्। 

विद्युत् अभावमा स्थानीय बासिन्दाका साथै सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालयलगायत सङ्घसंस्थाको काम प्रभावित भएको छ। बाढी र पहिरोबाट यहाँका ८२ घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । नलगाड नगरपालिकामा मात्र ५५ वटा घट्ट, सयाँै मुरीको धान खेतसमेत बाढीले बगाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!