महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ

Posted on: 29 Aug, 2018

भदौ १३, गौशाला | महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित मङ्गलबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पिपरा गाउँपालिका–६ बस्ने धर्मनाथ मुखिया, दिनेश मुखिया र विवेक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । 

भारत बिहारको मधवापुर बजारबाट लागूऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले मटिहानी नगरपालिका–७ स्थित सडकमा शङ्का लागि चेकजाँच गर्दा उनीहरू लागूऔषधसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले ३५ थान नाइटोभेट ट्याब्लेट बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरीले लागूऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

साँढेको आक्रमणबाट चार घाइते 

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा मङ्गलबार साँढेको आक्रमणमा परी चार घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका–१४ बस्ने कामेश्वर महतो, उमेश महतो, दिनेश साह सोना र सुरेश साह सोनार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । 

साँढेले विगत एक सातादेखि स्थानीयको घर तोडफोड गर्नेलगायतका आतङ्क मच्चाइरहेका बेला मङ्गलबार पुनः एक स्थानीयको घरमा पसी घर भत्काउन थालेपछि स्थानीयले लखेट्न जाँदा साँढे थप आक्रमक भई चार जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलको निहुँमा आत्महत्या 

अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँमा स्थानीय २१ वर्षीय आशिष मुखियाले घर नजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । 

यसै वर्ष माध्यमिक शिक्षा परीक्षा पास गरेका विद्यार्थी आशिषले अभिभावकलाई मोटरसाइकल किनिदिन भन्दै आएकोमा अभिभावकले केही दिनपछि किनिदिने भन्दै आएका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!