नेपाली नागरिक लुटिए, आइसक्रिम खाँदा बेहोस

Posted on: 30 Aug, 2018

भदौ १४, कञ्चनपुर (रासस) | भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा आज भारतमा लुटिएका छन् । 

बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन् । 

“सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो” पीडित तिरुवाले भन्नुभयो, “छ महीना काम गरेर कमाएर ल्याएको भारतीय रु ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ ।” बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उहाँ घर पुग्नु भएको छ । 

भारतमा मृत्यु 

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–६ का करिब २२ वर्षीय रनि साउदको भारत गुडगाँवस्थित रोहतकमा बुधवार सडक दुर्घटनामा मृत्यु भएको छ । 

सडक छिचोल्ने क्रममा गाडीले ठक्कर दिँदा साउदको मृत्यु भएको मृतकका छिमेकी तर्कराज भट्टले जानकारी दिनुभयो । मृतकको शव रोहतकस्थित सरकारी अस्पतालमा राखिएको छ । शव ल्याउनका लागि मृतकका आफन्त भारत गएका छन् । मृतक साउद भारतमा रोजगारी गर्दै आएका थिए । साउदका श्रीमती र दुई छोरा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!