घरभित्र बाँदर पसेपछि... मृत अवस्थामा महिला फेला

Posted on: 30 Aug, 2018

भदौ १४, लमजुङ (रासस) | मध्यनेपाल नगरपालिका– १ जितामा आज एक महिला मृत अवस्थामा फेला परेको छ । 

साविक जिता गाविस, निबुवाटारी बस्दै आएकी ५९ वर्षीया दमन्ती घिमिरे मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

घिमिरेको घरमा ढोका खुला रहेको र घरभित्र बाँदर पसेपछि छिमेकीले लखेट्ने क्रममा उहाँ मृत अवस्थामा फेला परेको हो । घिमिरेको गएराति हत्या भएको अनुमान गरिएको छ । 

घरमा एक्लै बस्दै आएकी घिमिरेलाई खोज्दै जाँदा शरीरमा चोट र रगताम्य अवस्थामा मृत फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको वडा अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । 

घिमिरेको टाउको, नाक, मुख र घाँटीमा गम्भीर चोट देखिएको छ भने एउटा हात र औंला पनि भाँचिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । सन्तान नभएकी घिमिरे अमेरिकामा रहेका आफ्ना श्रीमानसँग अंशबण्डा गरी छुट्टिएर एक्लै बस्दै आउनुभएको थियो । 

घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट कर्तव्य भएको यकिन गर्न सकिने घटनास्थल पुग्नुभएका लमजुङका प्रहरी प्रमुख यादव ढकालले बताउनुभयो । प्रहरीले पोखराबाट कुकुर ल्याएर घटनास्थल र घटनाबारे थप अनुसन्धान गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!