खाल्डाखुल्डी पुर्दै नेपालगञ्ज उपमहानगरपालिका

Posted on: 31 Aug, 2018

भदौ १५, नेपालगञ्ज | तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ । 

सडकको दयनीय अवस्थाका कारण नेपालगञ्ज उपमहानगरपालिकाले अहिले सडकका खाल्डाखुल्डी मर्मतमा लागेको हो । “खाल्डाखुल्डीमा परेर सवारी साधन दुर्घटना भयो नागरिकको ज्यान नै सङ्कटमा पर्ने कुरालाई दृष्टिगत गरी मर्मतको काम शुरु गरेका हौँ”, कार्यवाहक नगर प्रमुख प्रमोद रिजालले बताउनुभयो । 

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक डिभिजन कार्यालयमार्फत चार लेनको सो सडक निर्माण गरिएको हो । पप्पु निर्माण कम्पनीले बनाएको यो सडक शुरुवाती चरणमै कमसल खालको बनाएको भन्दै स्थानीय राजनीतिक दल र नागरिक समाजले विरोध जनाएका थिए । कुल ६ किलोमिटर लम्बाइको यो सडकको कैयौँ स्थानमा खाल्डाखुल्डी परेको छ । वर्षातमा परेको पानी सडकबाट नालामा झर्दैन । हस्तान्तरण नहुँदै अरू निकायले निर्माण गर्न नपाउने नियम छ । 

सडकको खाल्डाखुल्डी पुर्न पटकपटक निर्माण कम्पनीलाई भने पनि सुनुवाइ नभएपछि ठेकेदारबाट असुलउपर हुने गरी उपमहानगरपालिकाले मर्मतको काम शुरु गरेको कार्यवाहक नगर प्रमुख रिजालले बताउनुभयो । 

निर्माण कम्पनीले समयावधि बितिसक्दा पनि सङ्घीय सरकारलाई सडक हस्तान्तरण नगर्दा स्थानीय सरकारले सडक मर्मत गर्नुपरेको छ । हस्तान्तरण नगर्दै सडक जीर्ण बन्दै गएका कारण नेपालगञ्ज उपमहानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने अभियान नै चलाएको हो । नगरपालिकाको अभियानमा नागरिकले पनि साथ दिएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!