इतिहाँसले विर्सिएका बाङ्गे सार्कीलाई शहिद घोषणा किन नगर्ने ?

Posted on: 31 Aug, 2018

प्रेम सुनार/अशोक दर्नाल | भदौ १५, बुटवल | घटना विसं १८६६ तिरको हो ।  जुनबेला अङ्ग्रेज फौजले नेपाल आक्रमण गर्ने योजना बनाइरहेको थियो । उसबेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउन नसकेर अङ्ग्रेजहरु त्यही रोकिएका थिए ।

त्यही बेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई । अङ्ग्रेज फौजका अफिसरले उनलाई डाकेर नेपाल जाने बाटो आफ्नो फौजलाई देखाइदिए , घर– पैसा जे मागे पनि दिने प्रलोभन देखाए ।

तर गरिबीमा जति पिल्सिए पनि देशभक्ति भन्दा ठूलो अरु केही नदेख्ने नेपाली सपुत बाङ्गेले तुरुन्तै जवाफ फर्काए– ‘‘देशको बेइज्जत हुने काम मबाट कदापि हुन सक्दैन, तिम्रा सम्पत्ति मलाई चाहिन्न ।’’

आशा गरेभन्दा बिल्कुलै उल्टो जवाफ उनीबाट आएपछि रिसले चुर भएका अङ्ग्रेज अफिसरले तुरुन्तै बाङ्गेको ज्यान लिन आदेश दिए । उनलाई अङ्ग्रेज फौजले तत्काल त्यही ज्यान लिएका थिए । बाङ्गे उसबेला घरायसी सामान लिन जाने क्रममा नेपालको सिमाना नजिक रहेको भारतको बेतिया सहरमा पुगेका थिए ।

बाङ्गेले देशलाई धोका दिएर बाँच्न चाहेनन् । बरु देशको हितका खातिर मर्नु नै उचित ठाने र बाङ्गेले त्यही प्राणको आहुती दिए । नेपालको सार्वभौमसत्ता र अखण्डताका लागि दलित समुदायबाट जीवनको बलिदानी दिएका बाङ्ग ेसमेतका यी एकाध प्रतिनिधि पात्र मात्र हुन् ।  जसकाबारेमा आजसम्म कुनै इतिहासकारले कलम चलाउन सकेका छैनन् ।

विसं २०५३ जेठमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गरेको ‘नेपालमा जातीय छुवाछूत’ नामक पुस्तकको पृष्ठ ६२ मा ‘नेपालको राजनीतिमा उत्पीडित जातिको सहभागिता’ शीर्षकको लेखमा बाङ्गेका बारेमा एक अनुच्छेद उल्लेख गरिएको छ । नरनाथ लुइँटेल, माधवपन्थी, पद्मलाल विश्वकर्मा र रविमान लम्जेलले सम्पादन गर्नुभएको सो पुस्तकमा बाङ्गे कुन जिल्लाका थिए भनेर उल्लेख भने गरिएको छैन् । यस पुस्तकका सम्पादक पद्मलाल विश्वकर्माले बाङ्गे तनहुँका भएको बताएका छन् ।

त्यसैगरी तत्कालीन माओवादी निकट नेपाल दलित मुक्ति मोर्चाको विसं २०६२ पुस २७ देखि माघ १ गतेसम्म भएको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदनमा पनि एक अनुच्छेद उल्लेख गरिएको छ, तर त्यहाँ पनि उनी नेपालको कुन जिल्लाका थिए भन्ने कुुरा उल्लेख गरिएको छैन् ।

उनी कुन जिल्लाका थिए भन्ने विषयमा दलित आन्दोलनका अगुवा नै स्पष्ट हुन सकेका छैनन् । तत्कालीन माओवादी नेता शङ्कर दुलाल,  नेता पर्शुराम रम्तेल, सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्मालगायको भनाइमा बाङ्गे गोरखा जिल्लाका थिए ।


दलित आन्दोलनका अगुवा विनोद पहाडी सम्पादक रहेको ‘नेपालीमञ्च’ २०६३ सालको भदौ महिनाको अङ्कको मध्यपृष्ठमा काले सार्की, विसे नगर्ची, जसवीर कामी, मणिराम गाइने र बाङ्गे सार्की समकालीन भएको उल्लेख गरिएको छ ।

काले सार्की, विसे नगर्ची, जसवीर कामी र मणिराम गाइने गोरखाको भएको र बाङ्गेकै समकालीन भएको हुँदा बाङ्गेको जिल्ला पनि गोरखा नै हुनसक्ने सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्माको अनुमान छ ।

बाङ्गेपछि आफू करिब १२÷१३ औँ पुस्ता भएको दाबी गर्ने कञ्चनपुर–१ दैजीका नन्दसिंह सार्कीलाई उनका पुर्खाले भनेअनुसार बाङ्गेको जिल्ला सुदूरपश्चिमको कैलाली भएको जानकारी दिए ।

उनले भने,–“बेतियामा बाङ्गेलाई अङ्ग्रेजहरुले नेपाल जाने बाटो पटकपटक सोध्दा पनि नबताएपछि उनलाई गिफ्तारपछि कुटपिट गरी मानसिक दबाब दिँदै रुखमा दुईवटा हातमा किल्ला ठोकेर गोलीको निसाना बनाइएको कुरा मलाई बुढापाकाले सुनाउने गर्नुहुन्थ्यो, तर मसँग कुनै लिखित दस्तावेज छैन् ।”

बाङ्गे सार्कीका बारेमा इतिहासविद् डा त्रिरत्न मानन्धर, तुल्सीराम वैद्य, प्रा दिनेशराज पन्त, डा दिनेशचन्द्र रेग्मीसमक्ष जिज्ञासा राख्दा ‘इतिहासमा कहीँकतै नाम नसुनेको’ जानकारी दिए । विसं १८७१ मा नेपाललाई अङ्ग्रेजले आक्रमण गरेको समयको वरिपरि भएको हुँदा बाङ्गेलाई त्यही समयमामा मारिएको हुनसक्ने अनुमान इतिहासकारहरुको छ ।

त्यसैगरी डा राजेश गौतम र प्राडा सुरेन्द्र केसीले बाङ्गेको बारेमा कतै पत्रपत्रिका र पुस्तकमा पढ्न पाएको तर उनको बारेमा विरलै सुन्ने गरेको बताए ।  नेता तिलक परियार, जीवन परियारलगायतले घटना वास्तविक भएको तर सम्पन्न वर्ग, सत्तापक्ष र गैरदलितले गरेको योगदानमात्र गनिने र इतिहास लेखिने हुँदा बाङ्गेका बारेमा इतिहास नलेखिएको भन्दै गुनासो गरे ।

दलित समुदायका राष्ट्रप्रेमी व्यक्तित्व बाङ्गेका बारेमा राज्य, सरकार, राजनीतिक दल, तीनका दलित भ्रातृ सङ्गठन, दलित समुदायको अधिकारका लागि लड्ने सरकारी गैरसरकारी सङ्घ÷संस्थाले वा दलित अन्दोलनले अहिलेसम्म कुनै खोजीनीति गरेका छैनन् ।

उनको बारेमा पछिल्लो पटक सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीले उनको खोजीनीति गरी प्रथम राष्ट्रिय वीर सहिद घोषणा गर्नुपर्ने माग गर्र्दै प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाइ सकेपनि अझसम्म   कुनै सुनुवाइ हुन सकेको छैन् । नेपाली दलित आन्दोलनमा मात्र नभई सिङ्गो नेपालको राष्ट्रियताकै आन्दोलनमा बाङ्गेलाई सम्मान गर्न सकिएन भने नेपालको इतिहास अधुरो रहने छ । यसप्रति राज्य, इतिहासकार, दलित हितसम्बन्धी सङ्घसंस्था, स्वयम् दलित समुदाय र समस्त देशभक्त स्वाभिमानी नेपाली जनता सचेत र सक्रिय हुन जरुरी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!