महोत्तरीकी ८ महिने बालिका हत्याको घटनाले प्रदेश २ लाई नै स्तब्ध

Posted on: 01 Sep, 2018

भदौ १६, महोत्तरी | प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताउनुभएको छ । 

आज औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उहाँले बालिकाको हत्यामा संलग्न हुनेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनअनुसार कारबाही गर्न महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई निर्देशन दिनुभयो । 

राज्यमन्त्री शर्माले उक्त घटनाको सत्य, तथ्य र निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रदेश सरकार र स्थानीय प्रशासन गम्भीर रहेकाले आन्दोलनको स्वरुप परिवर्तन गरी अपराधी पक्राउ गर्नमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य जैइनुल राइन र जिल्ला समन्वय समितिका अध्यक्ष सुरेश सिंहले घटनाको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन र छिटो भन्दा छिटो अपराधीलाई पक्राउ गरी विधिको शासन स्थापित गराउन स्थानीय प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । 

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उक्त घटनामा संलग्नहुनेको खोजी कार्यलाई प्रहरीले व्यापक बनाएको हुँदा चाडै नै अपराधी पक्राउ पर्ने विश्वास दिलाउनुभयो । 

मृतकका बाबु सन्तोष चौधरीले छोरीको हत्या गर्ने अपराधी पक्राउ गर्नु नै आफ्नो लागि सबैभन्दा ठूलो उपहार हुने बताउनुभयो । 

गत आइतबार महोत्तरीको औरहीबाट बालिका सोनालीलाई अपहरण गरी हत्या गरेको घटनालाई लिएर स्थानीयले प्रदर्शन गर्दै विगत पाँच दिनदेखि औरही बजार बन्द गराएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!